
चलचित्र पत्रकार संघ नेपाल ले आफ्नो २७औं स्थापना दिवस तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा विभिन्न चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
काठमाडौंस्थित लिसारा रिसेप्सनमा बिहीबार आयोजित विशेष समारोहमा चलचित्र पत्रकारितामा योगदान पुर्याएका ६ जना पत्रकारलाई नगद राशिसहित सम्मान गरिएको हो।
समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ अन्तर्गत ५५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित अनन्त वाग्ले सम्मानित भए। यस्तै ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ जयन सुब्बा मानन्धर र कुबेरराज गिरी लाई प्रदान गरियो।
त्यसैगरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ अन्तर्गत ५१ हजार रुपैयाँसहित वैकुण्ठराज पराजुली पुरस्कृत भए भने ‘स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ अन्तर्गत ५१ हजार रुपैयाँसहित सुरक्षा भट्टराई सम्मानित भइन्।
‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान २०८३’ अन्तर्गत २५ हजार रुपैयाँसहित मिलन ढुंगाना लाई सम्मान गरिएको थियो। कार्यक्रममा स्वर्गीय दिनेश सिटौला प्रति मरणोपरान्त विशेष सम्मान अर्पण गरिएको थियो।

समारोहमा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पञ्चेबाजासहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतीले विशेष आकर्षण थपेको थियो।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेश डीसी ले नेपाली चलचित्र पत्रकारिता क्रमशः संगठित र व्यवस्थित हुँदै गएको उल्लेख गर्दै चलचित्र प्रवर्द्धनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको बताए।
विशेष अतिथि राजेश हमाल ले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको बताउँदै वर्तमान ‘क्लिक कल्चर’ र प्रविधिका चुनौतीबीच तथ्यपरक तथा जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको धारणा राखे।
त्यस्तै करिष्मा मानन्धर ले चलचित्रलाई दर्शकमाझ पुर्याउने मुख्य माध्यम पत्रकारिता नै रहेको उल्लेख गर्दै कलाकार र पत्रकारबीच सहकार्य अझ बलियो हुनुपर्ने बताइन्।
संघका अध्यक्ष समीर बलामी ले चलचित्र पत्रकारितालाई अझ जिम्मेवार, मर्यादित र संगठित बनाउने प्रतिबद्धता व्यक्त गरे। महासचिव गोपिकृष्ण चापागाईं ले नयाँदेखि तीन दशकसम्म सक्रिय पत्रकारलाई सम्मान गरिएको जानकारी दिए।
कार्यक्रममा रेखा थापा, पल शाह, निखिल उप्रेती, सुरक्ष्या पन्त, जितु नेपाल लगायत चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।
