काठमाडौंमा अन्तर्राष्ट्रिय सुन्दरीहरुको जमघट


Sundari-Ladiesग्ल्यामर नेपाल, काठमाडौं ।
ईप्लानेट नेपालको आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ मा सहभागिता जनाउन विभिन्न मुलुकका सुन्दरीहरु काठमाडौं आइपुगेका छन् । ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताका लागि म्यानमार, थाइल्याण्ड, सिंगापुर, सियरालोन, जाम्बिया, बंगलादेशका सुन्दरीहरु नेपाल आइपुगेका छन् भने शुक्रबारसम्ममा जिम्बावे, भारत, मलेसिया, इक्वेडर, नाइजेरिया, हाइटी, मकाओ, नामिबिया लगायत अन्य प्रतियोगिहरु आइपुग्ने जानकारी आयोजकले जनाएका छन् । नेपालका तर्फबाट नानी थापाले सहभागिता जनाउँदैछिन् ।

संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार जिम्मावेको सिपीती मिडियाले आयोजना गर्दै आएको मिस हेरिटेज इन्टरनेशनल प्रतियोगिता यस पटक इप्लानेट नेपालले आयोजना गर्न लागेको हो । ‘यो प्रतियोगिता युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि हुने कार्यक्रम हो,’सापकोटाले भने,‘सम्बन्धित मुलुकका साथै विश्वका कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु यस प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तव्य हुने गर्दछ ।’

सुन्दरीहरुलाई नेपाली कोरियोग्राफर रोजिन शाक्य र थाइल्याण्डका अनुरत कोसाकुलले प्रशिक्षण दिनेछन् । ग्राण्ड फिनाले अन्तर्गतको एउटा चरणका लागि फेसन डिजाइनर समा बनुले पहिरनहरु तयार पारेकी छन् । आयोजकका अनुसार फिल्ड ट्रिप अन्तर्गत सहभागीहरुलाई काठमाडौं, पाटन र भक्तपुर दरबार स्क्वायर क्षेत्र तथा काठमाडौं उपत्यका अवस्थित मुख्य मुख्य साँस्कृतिक एवं सम्पदा क्षेत्रको भ्रमण गराइनेछ भने सोही क्रममा लुम्बिनी र चितवनको भ्रमण पनि गराइनेछ । भ्रमण लगत्तै नगरकोटस्थित नगरकोट हिलसाइड भिलेज रिसोर्टमा क्लोज क्याम्प प्रशिक्षण सञ्चालन गरिनेछ । प्रतियोगितामा सहभागीहरुले मुख्य उपाधिबाहेक नेसनल कस्ट्युम, वातावरण सचेतता जगाउने पहिरन, इभिनिङ गाउन राउन्डका लागि प्रतिस्पर्धा गर्नेछन् भने अन्य विभिन्न विधागत अवार्डका लागि पनि विजेता चयन हुनेछ ।

कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आगामी डिसेम्बर ५ तारिखमा राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा गरिनेछ ।

SUBSCRIBE 👉