मिस नेवामा २२ सुन्दरी


Miss-Newaकाठमाडौं । नेप्लीज फेशन होमले आगामी फागुन १६ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजन गर्न लागेको १० औं संस्करणको ‘एइसीसी ग्लोबल मिस नेवा ११३५’मा २२ जना प्रतियोगीहरुले सहभागिता जनाउने भएका छन् । उनीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले व्यक्तित्व विकास, आत्मविश्वास विकास तथा स्टेज परफरमेन्सका विषयमा प्रशिक्षण दिईरहेका छन् भने नृत्य रोहिया महर्जनले सिकाई रहेकी छन् । यसबाहेक पूर्व मिस नेवा सुनिता डंगोलले सम्पूर्ण प्रतियोगीहरुलाई नेपाल भाषा, नेवार कला र संस्कृतिको बारेमा प्रशिक्षण दिईरहेकी छन् ।

आठ वर्ष पुरानो प्रसिद्ध अष्ट्रेलियन कन्सल्टेन्सी एइसीसी ग्लोबलले विभिन्न देशहरुमा आफ्नो शाखा कार्यालय स्थापना गर्दै विश्वका विभिन्न विश्वविद्यालयहरुमा १५ हजारभन्दा बढी विद्यार्थीहरुलाई पठाउँदै आएको छ । संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार फागुन ७ गते ‘आईईसी बेष्ट ड्रेस राउण्ड’ र फागुन ९ गते ‘युएफओ क्लोदिङ्ग स्टोर मिस ट्यालेन्ट’ आयोजना गरिनेछ ।

प्रतियोगीहरुलाई आईईसी कलेजले आकर्षक व्यक्तित्वका लागि फेशन विषयक एक दिने प्रशिक्षण दिईसकेको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय, ‘मिस टयालेन्ट’, ‘मिस नेपाल भाषा’का विजयी प्रतियोगीहरुलाई सालिमार ज्वेलर्सद्वारा प्रायोजित तथा निर्मित उच्च कोटीका चाँदीका ताजहरुबाट पुरस्कृत गरिनेछ भने सिभिल बैंक तथा अन्य संस्थाहरुले नगद पुरस्कार समेत प्रदान गर्नेछ । यसबाहेक विभिन्न विधामा पनि अवार्ड प्रदान गरिनेछ ।

SUBSCRIBE 👉