भोजराज भाटको ‘सुनकली’लाई अन्तर्राष्ट्रिय अवार्ड


स्लोभानियाको माउण्टेन फिल्म फेस्टिबल दोम्जालेमा पत्रकार भोजराज भाटले निर्देशन गरेको नेपाली वृतचित्र सुनकलीले अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ। फागुन ११-१५ सम्म चलेको उक्त फिल्म फेस्टिबलमा सुनकलीले माउण्टेन, नेचर तथा कल्चर विधामा जुरी अवार्ड पाएको हो।

Sunakali Bhojraja Bhat

Members of the jury of the festival and director of Sunakali, Bhojraja Bhat |Photo Courtesy: Igor Kuster

मुगुकी १३ वर्षीया सुनकली र उनको फुटबल टिमले जिल्ला बाहिरसम्म पुगेर गरेको जितको अनुभवसम्मलाई पत्रकार भोजराज भाटले डकुमेन्टेसन गरेका हुन्। यसपटक किम्फको १२ औं संस्करणको उद्घाटन पनि सनकलीको विशेष प्रदर्शन सँगै गरिएको थियो। स्लोभानियामा पुरस्कृत भएका सबै वृतचित्र तथा फिल्मको महोत्सवको अन्तिम दिन पुनः प्रदर्शन गरिएको थियो।

हरेक वर्ष स्लोभानियाको राजधानी लुबियानामा हुने गरेको फिल्म महोत्सवमा यसपटक २६ देशका ५० फिल्म तथा वृतचित्र सहभागी भएका थिए। तीमध्ये अमेरिकाको जेफ रोइज मेटानोयाले उत्कृष्ट अवार्ड पाएको थियो। त्यसबाहेक उक्त महोत्वसमा तीन वटा अमेरिकी, दुई जर्मनी, दुई बेलायत अनि नेपाल र फ्रान्सका एक-एक वृतचित्रले विभिन्न विधामा पुरस्कार पाएका हुन्। यद्यपि, स्लोभानियाबाट प्रतिष्पर्धाका लागि छनौट भएका ६ वटा फिल्म तथा वृतचित्रले कुनै अवार्ड पाएनन्।

पहिलो अन्तर्राष्टिय प्रदर्शनका लागि सुनकलीका निर्देशक भोजराज भाट र निर्माताका तर्फबाट विमलसिंह विष्ट दुबै स्लोभानिया पुगेका थिए। उक्त अवार्ड विशेष समारोहका लागि फिल्म फेस्टिबलका निर्देशक सिल्भो कारो र स्थानीय शहर दोम्जालेका मेयरले संयुक्तरुपमा निर्देशक भाटलाई ट्रफी दिएका हुन्।

भोजराज भाटको ‘सुनकली’ले अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १२ औं संस्करणमा पर्वतीय विकासका विषयमा बनाइएका फिल्ममध्ये उत्कृष्ट घोषित भएर एक हजार अमेरिकी डलरको इसिमोड अवार्डसहित जुरी अवार्ड समेत पाएको थियो।

SUBSCRIBE 👉