ब्युटिसियनका लागि निःशुल्क सौन्दर्य कक्षा


Beauticianकाठमाडौं । नयाँ ब्युटिसियन उत्पादनसँगै उनीहरुको क्षमतालाई अभिवृद्धि गर्नका लागि ललितपुरमा बिहीबारबाट ‘ब्युटिसियन ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ । ललित ब्यूटिसियन बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा सञ्चालित सिटीईभिटीबाट मान्यता प्राप्त सेन्टरको ललितपुर क्षेत्र नम्बर ३ का सभासद मदनबहादुर अमात्य र सिटीईभिटीका सदस्य सचिव डा. रामहरि लामिछानेले शुभारम्भ गरे ।

प्रमुख अतिथी सभासद अमात्यले महिलाहरूको शिप वृद्धिका लागि संस्थाले चालेको कदम सराहनीय भएको भन्दै प्रशिक्षार्थीहरूलाई असल ब्यूटिसियन बनेर निस्कन शुभकामना दिएका थिए ।

सिटीईभिटीका सदस्य सचिव लामिछानेले संस्थाले निशुल्क रूपमा कक्षा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै प्रशिक्षार्थीहरूलाई आत्मनिर्भर हुनसक्ने भन्दै समयलाई चिनेर उचित शिक्षा लिन आग्रह गरे ।

संस्थाकी अध्यक्ष तथा सिनियर ब्यूटिशियन मिना रिमाल न्यौपानेले उचित शिक्षा दिएर दक्ष ब्यूटिसियन उत्पादन गर्ने लक्ष्य बोकेर अगाडी बढेको जानकारी दिईन् । लामो समयदेखि सौन्दर्य व्यवसायमा काम गर्दै आएका दक्ष ब्यूटिसियन महिलाहरूले तालिम दिनेछन् । सेन्टरमा तीन महिने छोटो अवधीको कक्षा सञ्चालनमा आएको ट्रेनिङ सेन्टरका म्यानेजर सुमन गैरेले बताए । उनका अनुसार संस्थाले निशुल्क रूपमा थुप्रै सामाजिक कार्य गर्दै आएको छ । संस्थाको आयोजनामा गत शनिवार जावलाखेलमा निशुल्क सौन्दर्य शिविर सम्पन्न भएको थियो । ललितपुरको २२ स्थानमा पनि निशुल्क सौन्दर्य शिविर गर्ने संस्थाको लक्ष्य रहेको गैरेले जनाए ।

SUBSCRIBE 👉