बालबालिकालाई डान्स थेरापी


काठमाडौं । गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछि आएका पराकम्पनले त्रसित बालबालिकामा मनोवैज्ञानिक असर पर्न थालेको देखिएपछि वि मानव आर्ट स्टुडियोले उनीहरुलाई डान्स थेरापी कक्षा सुरु गरेको छ । स्टुडियोका कलाकारहरुले विभिन्न स्कुल तथा ठाउँमा आश्रय लिएर बसेका महिला तथा वालवाकिाहरुलाई डान्स थेरापी मार्फत सहज बनाउने प्रयास गरेका हुन् । गित संगितको धुन र शारीरिक हाउँभाउ मार्फत मन र दिमागमा रहेको नकारात्मक भावनालाई हटाउनको लागी डान्स थेरापी उपयक्र्त हुने स्टुडियोको दाबी छ ।

स्टुडियोले हालै चावहिलस्थित गोल्डेन पिक स्कुलमा आश्रय लिइरहेका तथा आसपासका मानिसहरुलाई लक्षित गरी आयोजना गरिएको थेरापीमा बुढाबुढी, केटाकेटी, तन्नेरी पराकम्पनको परवाह नगरी रमाइरहे । केएमसी स्कुलका नृत्य प्रशिक्षक तथा वि मानब आर्ट स्टुडियोका निर्देशक÷कोरियोग्राफर सुमन सागर जङ्ग के.सीले उनीहरुलाई नँचाईरहेका थिए । ‘मैले केएमसी स्कुलमा आश्रय लिएर बसेका आममानिसको आत्मबल बढाउनको लागि पनि डान्स मार्फत केही दिन अभ्यास गराएको थिएँ, सबैजना रमाउनु भयो, खुशी हुनुभयो,’उनले भने, ‘अझ बच्चाहरु त झन रमाए । उहाँहरुले आफना आफन्तलाई टेलिफोनमा यसरी आफु र आफ्नो बच्चा डराउन छाडेको बताउन थालेपछि त डान्स थेरापी नै भुकम्पको त्रास हटाउने काइदाको उपाय भएको छ ।’
Danceअभियानमा संलग्न कलाकार रोमा न्यौपानेले पनि जो नाच्छ त्यसको डर भाग्छ भन्दै कम्मर मर्काएपछि पीडितहरु त्रासलाई बिर्सेर नाँचेका थिए । ‘खासै राम्रो नाच्न त जान्दिन म यसो कम्मर मर्काउने मात्र हो भन्दै म नाँच्न थालेपछि उपस्थित सबैले नाच्न थाले ।’ कलाकार न्यौपानेले भनिन् । सडक दुर्घटनामा एक खुट्टा गुमाएकी रोमा नेपालकी कुशल नृत्यांगना हुन् । न्यौपानेका अनुसार गित संगित र नृत्यका माध्यमले पढने दैनिकी विथोलिएका, आफन्त गुमाएकाहरुलाई थोरै समयको रमाइलो वातावरणले पनि सकारात्मक सन्देश दिने भएकोले स्थानीय संघसस्था तथा स्कुलले हौसला प्रदान गरिरहेको छ । थेरापीमा केसी र न्यौपानेसँगै कोरियोग्राफर किसन भुसाल र नृत्यङ्गना रीना गिरी र अजिता जोशीले स्वयंसेवकको रुपमा साथ दिइरहेका छन् । उनीहरु वि मानब आर्ट स्टुडियोका सदस्य पनि हुन । विगत २० दिनदेखि डान्स थेरापी अभियानमा व्यक्तिगत रुपमा खर्च भइरहे पनि विपतका बेला सामाजिक कार्यमा जुट्नु युवाको कर्तव्य भएको केसीले बताए ।

थेरापीका लागि यो टोली केएमसी स्कुल, त्रिज्योती स्कुल, गोल्डेन पिक स्कुल, गोकर्ण, मनमैजु, गोङ्गबु, बुद्धनगर, दुवाकोट, पाटनलगायतका स्थानमा पुगिसकेको छ । हालसम्म निशुल्क रुपमा डान्स थेरापी गराउँदै आएका सुमनको योजना यो अभियानलाई उपत्यका बाहिरसम्म पु¥याउने रहेको छ ।

SUBSCRIBE 👉