मिस यूथ नेपालमा निशूल्क सहभागिता


काठमाडौं । सौन्दर्य प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीका लागि रकम लिएर सहभागिता गराउने चलन बढिरहेको बेला ट्रिक मिडियाले पहिलो पटक आयोजना गर्न लागेको ‘मिस यूथ नेपाल–२०१५’मा सहभागी हुन चाहनेले निःशुल्क सहभागिता जनाउन पाउने भएका छन् ।

Miss Youth Nepal

संस्थाका प्रमुख नहकुल खड्काले प्रतियोगितालाई नौलो किसिमले आयोजना गर्दै प्रतियोगिलाई प्रोत्साहन गर्न निःशुल्क भर्ना लिईएको बताए । यसअघि टेलिभिजनमा रियालिटी शो तथा क्विज कार्यक्रम निर्माण गरिरहेको ट्रिक मिडियाले ‘मिस यूथ नेपाल’ मा सहभागिताका लागि आगामी साउन २३ गते शनिवार पहिलो अडिसन कार्यक्रम सञ्चालन गर्दैछ । ‘यूथ विद पर्पोस’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको यो प्रतियोगितामा सहभागिता जनाउने युवतीहरु प्लस टु उत्तिर्ण १६ वर्षदेखि २५ वर्ष उमेर समुहको हुनु पर्ने आयोजकले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

प्रतियोगिताका लागि छनौट हुने सुन्दरीहरुलाई एक महिनाको विशेष प्रशिक्षण प्रदान गरिने छ । भदौको दोस्रो साता जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने यो प्रतियोगितामा सहभागि हुने प्रतियोगिहरुलाई फिल्म निर्देशकहरु दिनेश डिसी, सुमन दाहाल, सुचित्रा श्रेष्ठ, क्याप्टेन विजय लामा, संगीतकार महेश खड्का आदिले व्यक्तित्व विकाससहितका विधामा प्रशिक्षण दिनेछन् ।

निर्देशक डिसीले प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ तथा पब्लिक स्पिकिङको प्रशिक्षण दिनेछन् भने निर्देशक दाहालले व्यक्तित्व विकासको कक्षा सञ्चालन गर्नेछन् । निर्देशक सुचित्रा श्रेष्ठले आत्मविश्वास अभिवृद्धि गराउने विषयमा प्रशिक्षण दिनेछिन् । क्याप्टेन विजय लामाले मोटिभेसन क्लास सञ्चालन गर्नेछन् । संगीतकार महेश खड्काले पनि व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पासहित गतिविधीमा समेत सहभागि गराइने आयोजकले जनाएका छन् ।

SUBSCRIBE 👉