मिस ग्राण्ड इन्टरनेसनलमा जेनिता


काठमाडौं । आगामी अक्टोबर २४ मा थाईल्याण्डको राजधानीमा बैंककमा हुन लागेको ‘मिस ग्राण्ड इन्टरनेसनल २०१५’मा नेपालका तर्फबाट जेनिता बस्नेतले सहभागिता जनाउने भएकी छन् । विश्वका ९५ वटा मुलुकका सुन्दरीले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगितामा सहभागिता जनाउन जेनिता आगामी अक्टोबर ४ मा त्यसतर्फ जाँदैछिन् ।

‘मिस नेपाल २०१३’मा उत्कृष्ठ २० मा पुगेकी उनले बैंककको प्रतियोगितामा सहभागी भएर उपाधि जित्नका लागि राजधानीको नक्सालमा रहेको रेज फिटनेस सेन्टरमा क्याटवक र फिटनेसको तालिम लिईरहेकी छन् । ‘म अहिले तिब्र रुपमा तालिम लिईरहेको छु,’उनले भनिन्,‘मिस ग्राण्ड इन्टरनेशनल जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्न पाउँदा खुशी र शीर्ष उपाधि जित्नका लागि उत्साहित छु ।’ ९५ देशका सुन्दरीले प्रतियोगितामा भाग लिए पनि अनलाईन भोटिङका आधारमा सर्वाधिक मत ल्याएको प्रतियोगीले सिधैं शीर्ष १० मा प्रतिष्पर्धा गर्न पाउने जेनिताले खुलाईन् ।
Jenita-Modelजेनिताले नेपाली संस्कृति र पर्यटनलाई प्रबद्र्धन गर्न प्रतियोगितामा विशेष पहिरन प्रस्तुत गर्नेछिन् । ‘म परम्परागत पहिरनका रुपमा रहेको ढाकालाई प्रतियोगितामा प्रदर्शन गर्न चाहन्छु,’जेनिताले भनिन्,‘अन्य देशबाट प्रतिनिधित्व गर्ने साथीहरुलाई नेपाल घुम्न आउन निम्तो पनि दिन्छु, नेपालमा भूकम्पले जनधनको क्षति भए पनि प्राकृतिक र पर्यटकीय सम्पदा सुरक्षित रहेको सन्देश दिन्छु ।’ प्रतियोगितामा उनले लगाउने पहिरनको डिजाईन फेसन डिजाईनर विश्व गौतमले गर्नेछन् । उनको अफिसियल फोटोग्राफरका रुपमा विकास खतिवडा र विकास पराजुली छन् ।

‘मिस ग्राण्ड इन्टरनेशनल २०१५’का आयोजकका अनुसार प्रतियोगितामा शीर्ष उपाधि चुम्नेले ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने फष्ट रनरअपले ६ हजार, सेकेण्ड रनरअपले ४ हजार, थर्ड रनरअपले ३ हजार र फोर्थ रनरअपले २ हजार अमेरिकी डलर पाउनेछन् । योबाहेक प्रतियोगितामा ‘बेष्ट नेसनल कष्ट्युम’ र ‘बेष्ट इभिनिङ गाउन’ जित्नेले जनही २ हजार अमेरिकी डलर तथा ‘मिस पपुलर’ र ‘बेष्ट सोसियल मिडिया’ विधाको अवार्ड जित्नेले जनही १ हजार अमेरिकी डलर पाउनेछन् । यो प्रतियोगितामा यसअघि सन् २०१३ मा अस्मिता सिटौला र सन् २०१४ मा सुजना रेग्मीले सहभागिता जनाईसकेका छन् ।
Jenita-Basnetबागबजारस्थित पद्यकन्या क्याम्पसमा अध्ययन गर्दा उत्कृष्ठ तीन विद्यार्थीमा परेर एक महिने युरोप भ्रमण गरेकी उनले सन् २००९ देखि फेसन इभेन्टमा सहभागिता जनाईन् । उनले रमपमको अन्तर्राष्ट्रिय विज्ञापनसँगै रियल जुसको विज्ञापनमा पनि अभिनय गरेकी छन् । रमपमको विज्ञापन भारतीय च्यानलका लागि निर्माण गरिएको थियो । उनले जेबी केमिकल्सका लागि कन्ट्री सेल्स मेनेजरका रुपमा दुई वर्ष पनि काम गरेकी थिईन् । विज्ञापन र र्याम्पमा नै रमाउने उनलाई अभिनयको अनुभव नभएकाले फिल्ममा काम गर्न भने मन लाग्दैन रहेछ ।

पुख्र्यौली घर झापाको गौरादह भए पनि हाल राजधानीको कपनमा बस्दै आएकी उनी परिवारकी चार छोरीमध्ये जेठी हुन् । फुड एण्ड न्यूट्रेसनमा मास्टर्स सकाउन लागेकी उनले सिटी सेन्टरमा दुई रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आएकी छन् ।

SUBSCRIBE 👉