इटालीमा हुने ७३ औं भेनिस फिल्म फेस्टिभलमा दुई नेपाली फिल्म


भेनिस फिल्म फेस्टिभलमा नेपाली दुई फिल्म छानिएका भएका छन्। इटालीमा हुन लागेको ७३ औं भेनिस फिल्म फेस्टिभलमा दीपक रौनियारको ‘ह्वाइट सन’ र विभूषण बस्नेत तथा पूजा गुरुङको सर्ट-फिल्म ‘दद्या’ले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। भेनिस संसारकै सबैभन्दा पुरानो र सर्वाधिक प्रतिष्ठित पाँचको सूचीमा पर्ने फिल्म फेस्टिभल हो।

Deepak-Rauniyar-White-Sun

फेस्टिभलको आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको सूची अनुसार दुवै फिल्म ‘होराईजन’ सेक्सनमा छनोट भएको हो। गत वर्ष यो फेस्टिभलमा मीनबहादुर भामद्वारा निर्देशित ‘कालो पोथी’ स्वतन्त्र समूह ‘इन्टरनेसनल क्रिटिक्स विक’मा छानिएको थियो।

८७ मिनेट लामो फिल्म ‘ह्वाइट सन’ले द्वन्द्वकालपछिको समयमा फरक आस्था राखेका दुई भाइको मनमुटावको कथाको उठान गरेको छ। बुवाको अन्तिम संस्कारका लागि एक दशकपछि गाउँ फर्केको चन्द्रले आफ्नो गाउँ, समाज र छरछिमेकका समस्याको समाधान खोज्ने प्रयास गर्छ।फिल्ममा दयाहाङ राई, आशा मगराती, रविन्द्रसिंह बानियाँ, सुमी मल्ल र अमृत परियारको मुख्य भूमिका छ। रौनियारको पहिलो फिचर फिल्म ‘हाइवे’ सन् २०१२ को ६२ औं बर्लिन फिल्म फेस्टिभलमा छानिएको थियो। फिल्म पत्रकारिताबाट फिल्म निर्माणमा आएका उनले त्यसअघि सर्टफिल्म ‘चौकठ’ र ‘पूजा’ निर्देशन गरेका थिए।

जुम्लाको सिन्जामा खिचिएको १७ मिनेट अवधिको ‘दद्या’ विभूषण र पूजाको दोस्रो सर्ट-फिल्म हो। जुम्लाको विकट गाउँमा दुई बुढाबुढीले आफ्नो एक्लोपनलाई कसरी सामना गर्छन् भन्ने कथा ‘दद्या’मा छ। उनीहरुले बनाएको अघिल्लो सर्टफिल्म ‘द कन्टाजियस अपरिसन्स अफ डम्बरे डेन्ड्राइट’ पनि केही स्वदेशी तथा विदेशी फिल्म फेस्टिभलहरुमा चर्चा कमाउन सफल भएको थियो।

११ दिने भेनिस फिल्म फेस्टिभल आगामी अगस्ट ३१ मा सुरु हुँदैछ। अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा पछिल्लो समय भइरहेका कलात्मक अभ्यासलाई प्रतिविम्बित गर्ने फिल्महरु ‘ओरिजान्टी’ सेक्सनमा छानिएको आयोजकले जनाएको छ।

फेस्टिभलको उद्घाटन अमेरिकी फिल्म ‘ला ला ल्यान्ड’बाट हुनेछ। फेस्टिभलमा प्रमुख निर्णायकको जिम्मेवारी ‘अमेरिकन ब्युटी’, ‘स्काई फल’ र ‘स्पेक्ट्र’जस्ता फिल्मका बेलायती निर्देशक स्याम मेन्डेसले सम्हाल्दैछन्।

SUBSCRIBE 👉