प्रियंका चोपडाको फिल्ममा नेपाली चेली मन्जु केसी


भारतीय अभिनेत्री प्रियंका चोपडाले सिक्किमेली नेपाली भाषामा निर्माण गर्न लागेको फिल्म ‘पौवा’को लागि नेपाली भाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो फिल्ममा अनुवन्धन गरेकी हुन्। यो फिल्मका लागि प्रियंकाले नेपालीभाषी कलाकार र प्राविधिकहरुको खोजी गरेकी थिइन्।

२७ वर्षीय मञ्जुले धुर्मुस सुन्तलीको हाँस्य सिरियल ‘मेरी बास्सै’ र विभिन्न म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छिन्। ‘मेरी बास्सै मा खड्काजीकी कान्छी श्रीमतीको भूमिकामा देखिएकी थिइन्। मंजुले भनिन – ‘प्रियंकाको प्रोडक्सन कम्पनीले फोन मार्फत फिल्मको लागि छनोट भएको जानकारी दिँदा एकछिन बोली बन्द भयो।’

मंजु केसी क्षेत्रीको फोटो ग्यालरी हेर्नुहोस्

‘पौवा’ अर्थात ‘पाहुना’ मा आमा बुबाबाट छुटिएको बालबालिकाको कथा समेटिने जनाइएको छ। पक्खी तेरिवालाले निर्देशन गर्ने यो फिल्म, प्रियंकाको आफ्नै प्रडक्सन कम्पनि ‘पर्पल पिबल प्रोडक्सन’ ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मको सुटिङ मार्च महिनाबाट सुरु हुँदैछ।

अभिनेत्री चोपडाकी आमा मधु चोपडाले पर्पल पिबल प्रोडक्सनले निर्माण गर्न लागेको सिक्किमेली नेपाली फिल्म ‘पौवा’ को बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्। ‘सार्क राष्ट्रभित्र रहेका प्रतिभाहरुलाई प्ल्याटफम दिनको लागि पर्पल पिबल प्रोडक्सनको स्थापना गरिएको हो। स्थापनादेखि प्रोडक्सनको काम सुरु गर्न चाहेपनि सार्क राष्ट्रभित्र देखिएको विवादले गर्दा केही ढिला भएको हो,‘अभिनेत्री चोपडाकी आमा मधुले उल्लेख भनेकी छिन्,‘राम्रो विषयवस्तु र कथालाई हामीले प्राथमिकता दिएका छौं।’ सन् २०१५ मा अभिनेत्री चोपडाले सार्क र क्षेत्रिय फिल्महरु निर्माण गर्न पर्पल पिबल प्रोडक्सनको स्थापना गरेकी हुन्।

SUBSCRIBE 👉