विभिन्न कारणले रोकिएका सलमानका १२ फिल्म


बलिउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘टाइगर जिन्दा है’ डिसेम्बर २२ मा रिलिज हुँदैछ। सन् १९८९ मा ‘बिबी हो तो ऐसी’मा सहायक भूमिकाबाट बलिउड डेब्यु गरेका सलमानका थुप्रै सुपरहिट फिल्महरु छन्। पछिल्लो एक दशकयता सलमानका अधिकांश फिल्म सुपरहिट भएको छ। त्यसकारण सन् २०१२ को ‘एक था टाइगर’को सिक्वेल ‘टाइगर जिन्दा है’ पनि सुपरहिट हुने आकलन गरिएको छ। सलमानको करिअरमा केही फ्लप फिल्महरु पनि छन्। त्यति मात्रै नभई उनका घोषणा भएर निर्माण पूरा नभएका, बीचमै अड्किएका तथा सुटिङ भएर पनि रिलिज नभएका थुप्रै फिल्महरु छन्।

चोरी मेरा काम: सन् १९९० मा अजिज सजवालको निर्देशनमा सुरु भएको चोरी मेरा काममा सलमानका साथमा सुनील सेठ्ठी, काजोल र शिल्पा सेठ्ठी मूख्य भूमिकामा थिए। झन्डै ५० प्रतिशत सुटिङ सकिएको थियो। तर, फिल्म त्यसभन्दा अघि बढेन। त्यतिवेला चोरी मेरा काम चर्चामा थियो। तर, निर्माताले फिल्म पूरा गरेनन्। फिल्मको एउटा स्टन्ट सलमान र सुनील सेठ्ठी अभिनीत थम्सअपको विज्ञापनमा प्रयोग गरिएको थियो।

रण क्षेत्र: सलमान अभिनीत रणक्षेत्र सन् १९९० को फिल्म हो। फिल्ममा सलमानका साथ भाग्यश्री मुख्य भूमिकामा थिइन्। दिलीप शंकरले निर्देशन गरेको रणक्षेत्रको केही दिन सुटिङ भएको थियो। एकाएक हिरोइन भाग्यश्रीले हिमालय दासनीसँग बिहे गरेपछि फिल्मको काम रोकियो।

दिल हे तुम्हारा: सलमानले अभिनय गरेको सन् १९९१ को फिल्म दिल हे तुम्हारा पनि पूरा भएन। राजकुमार सन्तोषीले निर्देशन गरेको फिल्मको पहिलो सेड्युल मात्र सुटिङ गरिएको थियो। त्यसैक्रममा निर्देशक सन्तोषीले बरसात फिल्म निर्देशन गर्ने मौका पाए। उनी बरसाततिर लागेपछि दिल हे तुम्हारा रोकियो। फिल्ममा सलमानका साथ सनी देओल र मीनाक्षी शेषाद्री मुख्य भूमिकामा थिए।

घेराव: सलमानको घोषणा भएर नबनेको फिल्म हो, घेराव। दिल हे तुम्हारा अड्किएपछि निर्देशक राजकुमार सन्तोषीले सन् १९९१ मै सलमानका साथ मनीषा कोइरालालाई लिएर यो फिल्म मुर्हत गरेका थिए। घेराव मुर्हतभन्दा अघि बढ्न सकेन। सन्तोषीले सलमानलाई दिल हे तुम्हारामा दिएको पारिश्रमिक घेरावमा मिलाएको बताइन्छ।

ए मेरे दोस्त: सलमानको मुर्हत भएर नबनेको अर्काे फिल्म हो, ए मेरे दोस्त। सन् १९९१ को यो फिल्ममा सलमानका साथ दिव्या भारती, अरबाज खान र करिश्मा कपुर मुख्य भूमिकामा थिए। नदिम श्रवणको संगीतमा एउटा गीत रेकर्डिङ र मुर्हतबाहेक यो फिल्म अघि बढ्न सकेन।

बुलन्द: सन् १९९२ मा बनेको बुलन्द सलमानको निर्माण पूरा नभएको फिल्म हो। बुलन्दको झन्डै ८० प्रतिशत सुटिङ सकिएको थियो। तर, लगानी विवादका कारण पूरा भएन। फिल्ममा सलमानका साथ सोमी अली मुख्य भूमिकामा थिइन्। सन् २०१६ मा रिलिज भएको ऋतिक रोशनको काबिल फिल्मलाई बुलन्दको कपी भन्ने आरोप लागेको थियो।

राम: सन् १९९४ मा सोहेल खानले निर्देशनमा डेब्यु गरेको राम फिल्म पनि पूरा भएन। राममा सलमान र पूजा भट्ट मुख्य भूमिकामा थिए। फिल्मको ४० प्रतिशत सुटिङ सकिएको थियो। सुटिङकै क्रममा निर्देशक सोहेल र निर्माता मंसुर सिद्धिकीबीच लगानी विवाद चर्कियो। त्यसपछि सलमान आफैँले फिल्म पूरा गर्छु पनि भने। तर, फिल्म अघि बढेन।

दश: सन् १९९७ को दश फिल्म पनि पूरा भएन। झन्डै ४० प्रतिशत सुटिङ सकिएपछि निर्देशक मुकुल एस आनन्दको अचानक निधन भयो। त्यसपछि मुकुलका भाइ राहुलले फिल्म पूरा गर्ने घोषणा पनि गरे। तर, काम अघि बढेन। फिल्ममा सलमानका साथ सञ्जय दत्त, रबिना टन्डन र शिल्पा सेठ्ठी मुख्य भूमिकामा थिए।

आँख मिचोली: अनीश बज्मीको निर्देशनमा सन् १९९७ मा निर्माण सुरु भएको आँख मिचोली पनि रिलिज भएन। फिल्ममा सलमान डबल रोलमा देखिनेवाला थिए। जुड्वापछि सलमान डबल रोल गर्न चाहँदैनथे। त्यसैले घोषणा भएर पनि यो फिल्म बनेन।

राजु राजा राम: सन् १९९७ मा निर्माण सुरु भएको राजु राजा रामको ७० प्रतिशत सुटिङ सकिएको थियो। तर, त्यसभन्दा अघि बढ्न सकेन। फिल्ममा सलमानका साथमा गोबिन्दा, ज्याकी श्राफ र मनीषा कोइराला मुख्य भूमिकामा थिय। डेबिड धवनको निर्देशनमा बनेको कमेडी फिल्म राजु राजा राम लगानी अभावका कारण डब्बा बन्द भएको बताइन्छ।

जलवा: सन् १९९८ मा जलवाको सुटिङ सुरु भयो। मोरिससको सेड्युल सकेपछि फिल्म अघि बढेन। केतन धवनको निर्देशन रहेको फिल्ममा सलमानका साथ सञ्जय दत्त र अरमान कोहली मुख्य भूमिकामा थिए।

महाभारत: सन् १९९९ मा निर्देशक राजकुमार सन्तोषीले महाभारत नामक फिल्म घोषणा गरे। फिल्ममा सलमानका साथ शाहरुख खान, अनिल कपुर र सनी देओल थिए। सलमान र शाहरुखको फोटोसुटबाहेक यो फिल्म अघि बढेन।

SUBSCRIBE 👉