‘कृ’ ट्रेलर : ‘एङ्ग्री र रोमान्टिक’ मुडमा अनमोल केसी


अनमोल केसी स्टारर बहुप्रतिक्षित फिल्म ‘कृ’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा नायक अनमोल केसीलाई लामो कपालमा एङ्ग्री र रोमान्टिक लुक्समा पनि ट्रेलरमा देख्न सकिन्छ। ३ मिनेट लामो ट्रेलरमा नायिका अदिती बुढाथोकी अनमोलसँग रोमान्टिक मुडमा देखिन्छिन। यो ट्रेलरले फिल्मप्रतिको कौतुहलता झनै बढाएको छ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्म माघ २६ गतेबाट रिलिज हुँदैछ।

यो फिल्ममा अनमोल र अदिती संगै सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्ममा चन्द्र पन्तको एक्सन छ। चन्द्रले नायक केसीलाई एक्सन अवतारमा गज्जबले ढालेका छन्। फिल्मको कार्यकारी निर्माता कमल गिरी हुन्। सह-निर्माता श्री पराजुली हुन्। सुवास इन्टरटेन्मेन्ट प्रालिको निर्माणमा बनेको यो फिल्म द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो। सुवास गिरी र भूवन केसीले संयुक्त रुपमा फिल्ममा लगानी गरेका छन्।

नायक अनमोल केसीका फ्यान, आम दर्शकदेखि चलचित्रकर्मीले समेत यो चलचित्रको ट्रेलरलाई प्रतिक्षा गरिरहेका थिए। अघिल्ला ४ चलचित्रमा चकलेटी अवतारमा देखिएका अनमोलले पाँचौ चलचित्र ‘कृ’मा भने आफूलाई पूर्ण रुपमा बदलेका छन्। यो चलचित्रसँगै अनमोल अब रोमान्टिकसँगै एक्सन हिरोको रुपमा पनि जम्ने अनुमान लगाउन सकिन्छ।

SUBSCRIBE 👉