बलिउड अभिनेत्री प्रियंका चोपडाले ‘सरोगेसी’ रोज्नुको कारण !


बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति अमेरिकी गायक तथा अभिनेता निक जोनस बलिउडदेखि हलिउडसम्म रुचाइएका जोडी हुन्। यो जोडीले सन् २०२२ मा सरोगेसीको सहयोगले छोरी मालती मेरीलाई स्वागत गरिसकेका छन्। अहिले आएर प्रियंकाले सरोगेसीलाई नै किन छनोट गरिन् भन्ने कुराको खुलासा गरेकी छन्।

प्रियंकाले सरोगेसी छान्नुपर्ने विषयमा धेरै विस्तृत त बताएकी छैनन्। तर उनले ‘मेडिकल’कारणले गर्नुपरेको दाबी गरेकी छन्। ‘मलाई मेडिकल कम्प्लीकेसन भएको थियो। त्यसकारण हामीलाई यो अत्यावश्यक कदम थियो। म यो कुराबाट खुशी छु कि म त्यो स्थानमा थिएँ, जहाँ मैले यो गर्न सकें। हाम्रो सरोगेट यती दयालु, ठूली र रमाइलो थिइन्। उनले हाम्रो यो विशेष उपहारलाई ६ महिनासम्म ध्यान दिइरहिन्’, प्रियंकाले भनेकी छन्।

छोरी मालतीको जन्मको घोषणा गर्नासाथ प्रियंका ट्रोल बनेकी थिइन्। कैयौं सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि प्रियंकाले सरोगेसीको सहयोगले बच्चा जन्माइन् भन्ने कुरा पत्याउने विषय थिएन। यस्तो अवस्थामा कैयौं कुरा पनि भए र कैयौं सिद्धान्त पनि बाहिर आए। प्रियंका र निक आफ्नो व्यस्त समय तालिकाका कारण गर्भवती हुन नपाएकोसम्म हल्ला फिजियो।

प्रियंका भन्छिन् – ‘तपाईं मलाई चिन्नुहुन्न। तपाईंलाई थाहा छैन कि म कुन अवस्थामा गुज्रिरहेकी छु। म आफ्नो मेडिकल हिस्ट्री या आफ्नो छोरीको मेडिकल हिस्ट्रीलाई सार्वजनिक रुपमा बताउन चाहन्नँ। यसको मतलब यो होइन कि तपाई जे पनि मनगढन्ते कथा बनाउनुहोस्’।

प्रियंका र निककी छोरी मालती प्री-मेच्युर जन्मिएकी थिइन्। मालती जन्मको समयभन्दा पूरा एक ट्राइमेस्टर पहिला जन्मिएकी थिइन्। यस्तो बेला प्रियंका र निकलाई उनी जीवित हुन्छिन् या हुन्नन् भन्नेसम्म थाहा थिएन। मालतीको जन्मको तीन महिनासम्म प्रियंका र निक क्यालिफोर्नियाको रेडी चिल्ड्रेन अस्पतालको चक्कर लगाए। यो अस्पतालको आइसीयूमा मालती भर्ना भएकी थिइन्। त्यसपछि उनले लसएन्जल्सको सिडर्स-सिनाई अस्पतालमा राखिएको थियो।

SUBSCRIBE 👉