‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!

NepHop Ko Shreepech Season-3 ‘को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख


‘नेपहपको श्रीपेच – ३’को औपचारिक घोषणा गरिएको छ। पत्रकार सम्मेलन आयोजना गर्दै ‘नेपहपको श्रीपेच – ३’को घोषणा गरे सँगै डिजिटल अडिसन खुल्ला गरिएको छ। डिजिटल अडिसन कार्तिक २५ गते सम्म खुल्ला रहनेछ।

नेपाली टेलिभिजनमा रियालिटी शोहरुको भिडमा र्‍याप बिधामा एक मात्र स्थापित नाम हो ‘नेपहपको श्रीपेच’। ‘नेपहपको श्रीपेच’को सिजन ३ को टाइटल स्पोन्सरको रूपमा ‘रेड बुल’ रहने औपचारिक घोषणा गरिएको छ भने के.आई.ई.सी कन्सल्टेन्सीले पनि साथ दिने भएको छ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘नेपहपको श्रीपेच -३’ मा सहभागी हुनका लागि प्रतियोगीले www.nepalirap.com मार्फत आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन्। nephopkoshreepech@gmail.com मा पनिआफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन्।

प्राप्त अडिसन मध्य जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ। डिजिटल अडिसनकोलागी म्युजिक बिट Shreepech Studio युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ।

‘नेपहपको श्रीपेच ३’को विजेताले रु १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपविजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन्।

‘नेपहपको श्रीपेच’को पहिलो संस्करणको विजेता भाईबर साइमन हुन भने दोस्रो सिजनका विजेता योङ्ग वेभ हुन्। दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन्।

अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ “दोङ” निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडालाई मात्र सार्वजनिक गरिएको छ भने तेस्रो निर्णायक चाँडै नै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। कार्यक्रमको कार्यकारी निर्माताको रूपमा आदर्श विष्ट रहेका छन् भने निर्देशकिय टिमको लिड भने विक्रम खनालले गर्नेछन्।

‘नेपहपको श्रीपेच ३’ मङ्सिरको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिनेछ। कार्यक्रमको ब्रोड्कास्टिङ्ग पार्टनर र भोटिङ्ग पार्टनर पनि केही दिनमा नै सार्वजनिक गरिने बताईएको छ।

SUBSCRIBE 👉