
‘Elephants in the Fog’ Selected at Cannes Film Festival, A Historic First for Nepal
नेपाली फिचर फिल्म ‘एलिफेन्ट्स इन द फग (तिनीहरू)’ प्रतिष्ठित Cannes Film Festival को ‘Un Certain Regard’ सेक्सनमा आधिकारिक रूपमा छनोट भएको छ। यो उपलब्धिले नेपाली सिनेमा क्षेत्रका लागि नयाँ ढोका खोलेको छ।
निर्देशक Abinash Bikram Shah द्वारा निर्देशित यो फिल्म यस प्रतिस्पर्धात्मक विधामा पुग्ने पहिलो नेपाली फिचर बनेको छ। क्यान्सको मुख्य प्रतिस्पर्धापछि सबैभन्दा महत्वपूर्ण मानिने यस सेक्सनमा छनोट हुनु आफैंमा ठूलो उपलब्धि हो।
क्यान्सको ७९औं संस्करण यही मे महिनामा फ्रान्सको क्यान्स शहरमा आयोजना हुँदैछ, जहाँ फिल्मले ‘बेस्ट डाइरेक्टर’ र ‘ज्युरी प्राइज’ जस्ता अवार्डका लागि प्रतिस्पर्धा गर्नेछ।
घना जंगलसँग जोडिएको गाउँमा आधारित यो फिल्मले कमै देखिएको संसार उजागर गर्छ। कथा जङ्गली हात्तीको निरन्तर त्रासमा बाँचिरहेको एक परिवार वरिपरि घुम्छ।
कथाको केन्द्रमा‘पिरती’ एक सशक्त तर द्वन्द्वमा रहेको ट्रान्सजेन्डर समूहकी नेतृत्वकर्ता। हात्ती धपाउने क्रममा परिवारकै एक सदस्य हराएपछि उनको व्यक्तिगत चाहना र जिम्मेवारीबीचको संघर्ष अझ गहिरिन्छ। फिल्मले पहिचान, बाँचाइ र समाजसँग सीमान्तकृत समुदायको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
निर्देशक Abinash Bikram Shah का लागि यो उपलब्धि एकैपटक आएको होइन। स्क्रिप्टदेखि पोस्ट–प्रोडक्सनसम्म फिल्म बनाउन झण्डै पाँच वर्ष लागेको छ। उनको छोटो फिल्म ‘Lori’ सन् २०२२ मा क्यान्समै प्रदर्शन भएको थियो र ‘स्पेशल मेन्सन’ समेत जितेको थियो। यसपटक आफ्नो डेब्यु फिचर सहित ‘एलिफेन्ट्स इन द फग’ मार्फत उनी फेरि त्यही मञ्चमा फर्किएका छन्।
यो फिल्म नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल, नर्वे र अमेरिकाको सह–निर्माणमा तयार भएको हो। Underground Talkies Nepal सहित विभिन्न अन्तर्राष्ट्रिय टोलीको सहकार्य यसमा रहेको छ। निर्माता Anup Paudel ले छनोटको खबर अनलाइन कक्षामा हुँदा इमेलमार्फत थाहा पाएको बताउँदै त्यो क्षण अविश्वसनीय रहेको प्रतिक्रिया दिएका छन्।
फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवाबाग र आकांक्षा कार्कीको अभिनय रहेको छ। विशेषगरी, यौनिक तथा सीमान्तकृत समुदायका कलाकारहरूलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ, जसले कथालाई अझ प्रामाणिक बनाएको छ।
यो छनोट नेपाली फिल्म उद्योगका लागि टर्निङ पोइन्टका रूपमा हेरिएको छ। नेपालबाट आउने मौलिक र साहसी कथाहरूले अन्तर्राष्ट्रिय ध्यान खिच्न थालेको संकेत पनि यही हो।
साथै, Film Development Board Nepal र Nepal Tourism Board ले पनि यस वर्ष क्यान्समा आफ्नो उपस्थिति जनाउने तयारी गरेका छन्, जसले नेपालमाथिको अन्तर्राष्ट्रिय ध्यान अझ बढाउने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस्: एक्सन फिल्म ‘एक्का तीन’मा पुष्प खड्का र पूजा शर्माको जोडी
