
उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली युवतीहरूका लागि प्रतिष्ठित प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका २०२६’को आवेदन खुला गरिएको छ। यस वर्षको संस्करण भने नयाँ लोकेशनमा आयोजना हुने भएको छ, जसले प्रतियोगिताप्रति उत्सुकता झन् बढाएको छ।
‘नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने नारासहित आयोजना हुन लागेको यस प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जुलाई २५ (साउन ९) गते वासिङ्टन डी.सी.मा हुने तय भएको छ।
आयोजक संस्था ड्रिम्स युनिभर्सलका अनुसार, यसअघि लगातार आठ संस्करणसम्म न्यूयोर्कमा हुँदै आएको प्रतियोगिता पहिलो पटक वासिङ्टन डी.सी.मा सारिएको हो। आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले लोकेशन परिवर्तनले कार्यक्रमलाई अझ फरक र भव्य बनाउने विश्वास व्यक्त गरेका छन्।

यस संस्करणमा यूएसए इन्टरटेन्मेन्ट कम्पनीले लोकल होस्टका रूपमा सहकार्य गर्नेछ। नेपाली समुदायमा ठूला कार्यक्रमहरू आयोजना गर्दै आएको यस कम्पनीको सहभागिताले प्रतियोगिताको स्तर अझ उकास्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार, यस वर्षको फिनालेमा नेपाली सिने क्षेत्र तथा विभिन्न क्षेत्रका चर्चित सेलिब्रेटीहरूको उल्लेखनीय उपस्थिति रहनेछ। जसले कार्यक्रमलाई अझ ग्ल्यामरस बनाउनेछ।
प्रतियोगितामा सहभागी हुन अमेरिका वा क्यानडामा बसोबास गर्ने अविवाहित नेपाली युवती हुनुपर्नेछ। उमेर १८ देखि २९ वर्षभित्र हुनुपर्नेछ भने न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सोसरह राखिएको छ। साथै, प्रतिस्पर्धीको उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्ने मापदण्ड तोकिएको छ।
इच्छुक सहभागीहरूले प्रतियोगिताको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्।
विदेशमा रहेका नेपाली युवतीहरूको प्रतिभा, आत्मविश्वास र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने यो प्रतियोगिता पछिल्लो समय निकै प्रभावशाली प्लेटफर्मको रूपमा स्थापित हुँदै गएको छ।
यो पनि पढ्नुहोस : क्यान्स फिल्म फेस्टिभलमा ‘एलिफेन्ट्स इन द फग’ छनोट, नेपाली फिल्मको ऐतिहासिक उपलब्धि
