‘आ आमा २’ शुभमुहूर्त सँगै सुरु, पल शाह पुनः मुख्य भूमिकामा

पल शाह अभिनीत नेपाली फिल्म ‘आ आमा २’को शुभमुहूर्त पाटन बंगलामुखी मन्दिरमा गरिएको छ। ‘आ बाट आमा’को सिक्वेल रहेको फिल्म दसैंमा प्रदर्शनको तयारीमा छ, जसमा पुराना र नयाँ कलाकारको संयोजन देखिनेछ।


नेपाली फिल्म ‘आ आमा २’को औपचारिक सुरुवात गरिएको छ। पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण टिमले फिल्मको यात्रा सुरु गरेको हो।

यो फिल्म अघिल्लो वर्ष सुपरहिट बनेको ‘आ बाट आमा’को सिक्वेल हो। पहिलो भागबाट दर्शकले मन पराएका कलाकारहरू पल शाह, विपना थापा, प्रदीप रावत र गजित बिष्ट पुनः दोहोरिएका छन्। यसपटक कलाकार सूचीमा आकाश श्रेष्ठ र नरेन खड्का पनि थपिएका छन्।

निर्देशक चन्द्र पन्तका अनुसार अभिनेत्रीहरू तथा केही अन्य कलाकारको छनोट प्रक्रिया जारी छ र छिट्टै सम्पूर्ण कास्ट फाइनल हुनेछ। फिल्मको छायांकन तालिका पनि केही दिनमै सार्वजनिक गरिने तयारी छ।

निर्माण टिमले यो फिल्म आगामी दसैंमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। भावनात्मक कथावस्तुमा आधारित यो फिल्मले आमा–छोराबीचको सम्बन्धलाई अझ गहिराइमा देखाउने अपेक्षा गरिएको छ।

फिल्म आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुँदैछ। वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।


यो पनि पढ्नुहोस् : धिरज र मिरुनाको ‘कुस्ती’ दिकिला शेर्पाको नेपाली सिनेमा डेब्यु


SUBSCRIBE 👉