London Wedding Awards 2026 मा संयुक्ता श्रेष्ठलाई Wedding Boutique of the Year उपाधि

नेपाली मूलकी बेलायती डिजाइनर संयुक्ता श्रेष्ठले ‘London Wedding Awards 2026’ मा प्रतिष्ठित ‘Wedding Boutique of the Year’ उपाधि जितेकी छिन् । वातावरणमैत्री फेसन र सामाजिक उत्तरदायित्वका कारण उनको ब्रान्ड विश्वस्तरमै चर्चित बन्दै गएको छ ।


Designer Sanyukta Shrestha | Photo Courtsy: Kev Elkins

नेपाली मूलकी बेलायती फेसन डिजाइनर संयुक्ता श्रेष्ठले अन्तर्राष्ट्रिय फेसन क्षेत्रमा अर्को ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले ‘लन्डन वेडिङ अवार्ड्स २०२६’ अन्तर्गत प्रतिष्ठित ‘Wedding Boutique of the Year’ उपाधि जितेकी हुन्।

मे १३ मा लन्डनमा आयोजित विशेष समारोहमा संयुक्ता श्रेष्ठको फ्ल्यागशिप बुटिकलाई उक्त विधाको विजेता घोषणा गरिएको हो। सार्वजनिक मतदान र उद्योग विशेषज्ञहरूको मूल्याङ्कनका आधारमा प्रदान गरिएको यो अवार्डले उनको बुटिकलाई विश्वस्तरीय नवप्रवर्तन, वातावरणमैत्री फेसन र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा थप स्थापित गरेको छ।

सन् २०११ देखि लन्डन फेसन क्षेत्रमा सक्रिय संयुक्ता श्रेष्ठले त्यतिबेला आफ्नो इको–फ्रेन्डली ब्रान्ड सुरु गरेकी थिइन्, जब ‘Sustainability’ अर्थात् वातावरणमैत्री फेसनको अवधारणा बजारमा खासै चर्चित थिएन। अहिले उनी नेपाली मूलकी पहिलो डिजाइनर बनेकी छिन् जसको डिजाइन विश्वप्रसिद्ध फेसन म्युजियमको स्थायी संग्रहमा सुरक्षित गरिएको छ । उक्त संग्रहमा १६औं शताब्दीदेखिका एक लाखभन्दा बढी ऐतिहासिक फेसन सामग्री रहेका छन्।

यो सफलता केवल एउटा अवार्डमा सीमित छैन। ब्रान्ड स्थापना भएदेखि नै संयुक्ता श्रेष्ठले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार जित्दै आएकी छिन्। बेलायतको करिब १० अर्ब पाउन्ड बराबरको वेडिङ उद्योगमा यो अवार्डलाई निकै प्रतिष्ठित र प्रभावशाली मानिन्छ।

विश्वभरका ठूला फेसन हाउसहरू उत्पादन प्रक्रिया र पर्यावरणीय असरका कारण आलोचनामा परिरहेका बेला संयुक्ता श्रेष्ठको बुटिकले भने शून्य–फोहोर (Zero Waste), दिगो लक्जरी (Sustainable Luxury) र सामाजिक उत्तरदायित्वलाई सफलतापूर्वक अगाडि बढाएको छ।

यस उपलब्धिपछि प्रतिक्रिया दिँदै संयुक्ता श्रेष्ठले आफ्नो सफलता दुलहीहरू, महिला शिल्पीहरू, समर्पित टोली तथा सुरुदेखि साथ दिने सञ्चारकर्मीहरूप्रति समर्पित रहेको बताएकी छिन्।

उनले भनिन्, “म विचारले डिजाइनर र भावनाले कलाकार हुँ। एक बेहुलीको सपनालाई वास्तविकता बनाउनु नै मेरो सिर्जनाको उद्देश्य हो। विगत १५ वर्षदेखि हाम्रो ब्रान्ड दुलहीहरूको विश्वासका कारण यहाँसम्म आइपुगेको हो।”

हालै लन्डन फेसन विकमा प्रदर्शन गरिएको डकुमेन्ट्रीमार्फत पनि संयुक्ता श्रेष्ठको ब्रान्डले महिला शिल्पीहरूको मेहनत, परम्परागत सीप संरक्षण, उचित ज्याला र महिला सशक्तीकरणलाई विशेष रूपमा प्रस्तुत गरेको थियो।

लन्डनको प्रतिष्ठित वेडिङ अवार्ड जितेसँगै संयुक्ता श्रेष्ठले फेसन, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई एकैसाथ अघि बढाउन सकिन्छ भन्ने सन्देश विश्वमाझ स्थापित गरेकी छिन्।

SUBSCRIBE 👉