
अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्ने नेपाली बालबालिका तथा नयाँ पुस्तालाई भाषा, कला र संस्कृतिसँग जोड्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) मेरिल्यान्डले बाल्टिमोरमा नेपाली कला केन्द्र सञ्चालनमा ल्याएको छ।
केन्द्रमार्फत नेपाली भाषा, नृत्य र गायनका नियमित कक्षा सञ्चालन गरिने ईनास मेरिल्यान्डले जनाएको छ। नेपाली मौलिक बाजा बजाउने शैलीसम्बन्धी प्रशिक्षणसमेत दिने तयारी गरिएको छ।
बाल्टिमोरमा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार अमर छन्त्यालले कला केन्द्रको उद्घाटन गरेका हुन्। कार्यक्रम ईनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने अमृता नेपालले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

उद्घाटन समारोहमा मेरिल्यान्डका राज्य सांसद डेलिगेट डा. ह्यारी भण्डारी तथा गीतकार सतिश चापागाईंसहित नेपाली कला, संस्कृति र सामुदायिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो।
केन्द्रमा नृत्य विधाको प्रशिक्षण कलाकार सारङ्गा श्रेष्ठले दिनेछिन्। गायनतर्फ कुशल पोखरेल प्रशिक्षक रहनेछन् भने नेपाली भाषा ईनास मेरिल्यान्डका प्रशिक्षकहरूले अध्यापन गराउनेछन्।
आयोजकका अनुसार कक्षाहरू शनिबार र आइतबार सञ्चालन हुनेछन्। सप्ताहन्तमा कक्षा राखिएकाले विद्यालय जाने बालबालिका तथा कामकाजी अभिभावकलाई सहभागी हुन सहज हुने अपेक्षा गरिएको छ।

ईनास मेरिल्यान्डले यसअघि पनि बालबालिकालाई नेपाली भाषा, गायन, नृत्य र वक्तृत्वकलामा सहभागी गराउँदै आएको छ। संस्थाले आयोजना गरेको ‘किड्स ट्यालेन्ट शो–२०२६’ मा प्रवासमा हुर्किरहेका नेपाली बालबालिकाले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए। त्यही कार्यक्रमका क्रममा कला केन्द्र स्थापना गर्ने घोषणा गरिएको थियो।
विदेशमा हुर्किरहेका नेपाली बालबालिकाका लागि भाषा र कला सिक्ने नियमित स्थानको अभाव भइरहेका बेला केन्द्रको स्थापना महत्त्वपूर्ण मानिएको छ। यस्ता कक्षाले बालबालिकाको प्रतिभा विकास गर्नुका साथै उनीहरूलाई नेपाली भाषा, संगीत, परम्परा र सांस्कृतिक पहिचानसँग नजिक राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

