
मारुनीको लयदेखि कुमारी नृत्यको सांस्कृतिक गरिमा र थाली नृत्यको आकर्षक प्रस्तुतिसम्म, नेपाली मौलिकताको विविध रङ फ्रान्सको मञ्चमा देखाउँदै एभरेष्ट नेपाल कल्चरल ग्रुप (ENCG) को सांस्कृतिक टोली स्वदेश फर्किएको छ।
संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्वमा गएको टोलीले फ्रान्सको Saint-Maixent-l’École मा आयोजित ३८औँ अन्तर्राष्ट्रिय बाल सांस्कृतिक महोत्सवमा नेपाली लोककला, नृत्य र सांस्कृतिक पहिचान प्रस्तुत गरेको हो।
महोत्सवमा नेपाली टोलीले मारुनी, कौरा, गर्रा, यती, कुमारी, झ्याउरे तथा थाली नृत्य प्रस्तुत गरेको थियो। फरक समुदाय, भूगोल र सांस्कृतिक परम्पराको प्रतिनिधित्व गर्ने यी नृत्यको निर्देशन सपना महर्जनले गरेकी थिइन्।
कार्यक्रममा बागमती बोर्डिङ उच्च माध्यमिक विद्यालय, सुकेधाराका प्रधानाध्यापक श्यामदत्त अधिकारीको संयोजनमा विद्यार्थीहरूको सहभागिता रहेको थियो। टोलीका अनुसार अन्तर्राष्ट्रिय दर्शकसमक्ष प्रस्तुत नेपाली नृत्यले नेपालको सांस्कृतिक विविधता र मौलिक परम्परालाई चिनाउने प्रयास गरेको थियो।
टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष डा. कोइराला, समूहकी सदस्य तथा लालिगुराँस नेसनल एकेडेमीकी सहप्रधानाध्यापक सुजिता काफ्ले उदास र बागमती बोर्डिङ उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामदत्त अधिकारी सहभागी थिए।
विद्यार्थीतर्फ सुरभि अर्याल, कसिश भट्टराई, सदिच्छा महत, आहना कार्की, श्रुतिरानी गिरि, शुभाञ्जली सापकोटा, शुभम सम्राट घले, आध्या अधिकारी, आर्नबी गौतम, सम्पदा ओली, आयुश मिश्र, समृद्धि पौड्याल, आयुषा मिश्र र सम्बन्ध सिवाकोटीको सहभागिता रहेको टोलीले जनाएको छ।

सांस्कृतिक प्रस्तुतिसँगै शैक्षिक आदानप्रदान
भ्रमणलाई केवल मञ्चीय प्रस्तुतिमा सीमित नराखी विद्यार्थीहरूलाई स्थानीय विद्यालय तथा शैक्षिक वातावरणसँग परिचित गराइएको थियो। मेला अवधिमा उनीहरूले विभिन्न विद्यालयको अवलोकन गर्दै त्यहाँका विद्यार्थी तथा शिक्षकसँग शैक्षिक र सांस्कृतिक अनुभव साटासाट गरेका थिए।
प्रधानाध्यापक श्यामदत्त अधिकारीले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता र विश्वदृष्टि फराकिलो बनाउने उल्लेख गर्दै भविष्यमा विद्यालय–विद्यालयबीचको सहकार्य विस्तार गर्न पहल गरिने बताएका छन्।
फ्रान्स भ्रमणको व्यवस्थापन तथा संयोजन एभरेष्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक शीतल आचार्यले गरेकी थिइन्।

सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल
भ्रमणका क्रममा समूहका प्रमुख डा. कोइरालाले स्थानीय नगरपालिकाका प्रमुख, महोत्सव आयोजक र सम्बन्धित प्रतिनिधिसँग भेटघाट गरेका थिए। भेटमा नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने तथा नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे छलफल भएको टोलीले जनाएको छ।
सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा बालबालिका र युवालाई केन्द्रमा राखेर थप अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा पनि कुराकानी भएको थियो।
नेपाली विद्यार्थीले विदेशी भूमिमा आफ्नै संस्कृति प्रस्तुत गर्नु मनोरञ्जनात्मक कार्यक्रम मात्र होइन, नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानसँग जोड्ने अवसरसमेत हो। यस्ता सहभागिताले नेपाली कला र परम्पराको अन्तर्राष्ट्रिय दृश्यता बढाउनुका साथै संस्कृति, शिक्षा र पर्यटनबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुर्याउन सक्छ।

