
मुस्कान ढकालको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ। निर्माण टिमले आज बिहान पशुपति क्षेत्रमा पूजा गर्दै फिल्मको औपचारिक छायांकन थालेको हो।
फिल्मको सुरुवाती दुई दिन काठमाडौंमा छायांकन गरिनेछ। त्यसपछि निर्माण टिम दोलखाको जिरी प्रस्थान गर्नेछ, जहाँ करिब एक महिनासम्म फिल्मको मुख्य छायांकन हुने निर्माणपक्षले जनाएको छ।
नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने ‘रत्यौली’मा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापालगायत कलाकारको अभिनय रहनेछ।
अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा बन्न लागेको फिल्मका निर्माता सुरज आचार्य हुन्। हरि हुमागाँई र उत्तम हुमागाँइले डीओपीको जिम्मेवारी सम्हाल्नेछन् भने सुनिल निउरे मुख्य सहायक निर्देशक छन्।
दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेको फिल्ममा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ।
नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई केन्द्रमा राखेर निर्माण हुन लागेको ‘रत्यौली’लाई निर्माणपक्षले फागुन २१ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरिसकेको छ।

