भोजपुरको टेम्केमैयुङमा ‘मातृत्व जोगाउने अभियान’, १३७ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन गरिएको चारदिने ‘मातृत्व जोगाउने अभियान’ले किशोरी तथा महिलालाई स्वास्थ्य सचेतना, प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी र निःशुल्क क्यान्सर परीक्षण सेवा प्रदान गरेको छ। अभियानअन्तर्गत १३७ महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो।

महिलाको स्वास्थ्य संरक्षण तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन गरिएको चारदिने ‘मातृत्व जोगाउने अभियान’ सफलतापूर्वक सम्पन्न भएको छ। अभियानअन्तर्गत १३७ जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्।

आम नेपाली महिलाले पाठेघरको मुखको क्यान्सरका कारण भोग्नुपरेको दुःख र पीडालाई न्यूनीकरण गर्ने सोच र संकल्पसहित कल्प इम्पावर वुमेन नेपालको पहलमा अभियान सञ्चालन गरिएको हो। अभियानमा नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहकार्य गरेको थियो भने टेम्केमैयुङ गाउँपालिकाले समन्वय गरेको थियो।

भाद्र १६ गतेदेखि १९ गतेसम्म चलेको अभियानमा स्वास्थ्य सचेतना, किशोरी अभिमुखीकरण, समुदायस्तरीय स्वास्थ्य साक्षरता तथा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।

अभियानको पहिलो दिन भाद्र १६ गते गाउँपालिकाका किशोरीहरूलाई लक्षित गरी ‘SHE CAN (उनी सक्छिन्)’ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बीएस्सी नर्स तथा अभियानकर्मीहरूले पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी दिएका थिए।

किशोरीहरूलाई स्वास्थ्य सचेतनासँगै सामाजिक समस्या पहिचान, आत्मबल अभिवृद्धि र नेतृत्व विकासका विषयमा पनि अभिमुखीकरण गरिएको थियो।

भाद्र १७ गते किशोरीहरूलाई समुदाय र सामाजिक विषयवस्तुबारे व्यावहारिक रूपमा बुझाउने उद्देश्यले सामुदायिक स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसक्रममा घरघर र समुदायस्तरमा पुगेर पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा महिलाको स्वास्थ्यसम्बन्धी सचेतना फैलाइएको थियो।

अभियानको तेस्रो र चौथो दिन भाद्र १८ र १९ गते टेम्केमैयुङ गाउँपालिकास्थित अन्नपूर्ण स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षण, स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सञ्चालन गरिएको थियो।

दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट १३७ जना महिलाले स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पतालका विज्ञ तथा प्राविधिक स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरेका थिए।

परीक्षणका क्रममा दुई जना महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रारम्भिक शंकास्पद लक्षण पहिचान भएको विराट मेडिकल कलेज टिचिङ अस्पतालकी डा. रेखा साहले जानकारी दिनुभयो।

सम्बन्धित महिलालाई थप परीक्षण तथा आवश्यक उपचारका लागि स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक परामर्श प्रदान गरिएको छ।

अभियानका क्रममा महिलाहरूलाई रोगको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य र समयमै उपचारको महत्त्वबारे जानकारी दिइएको थियो।

कल्प इम्पावर वुमेन नेपालका प्रतिनिधिका अनुसार ‘मातृत्व जोगाउने अभियान’ले पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना बढाउनुका साथै ग्रामीण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

संस्थाले आगामी दिनमा पनि स्थानीय तह, स्वास्थ्य संस्था, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै महिलाको स्वास्थ्य संरक्षण, रोगको प्रारम्भिक पहिचान र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

SUBSCRIBE 👉