
नेपाली फिल्मको लोकप्रिय शृंखला ‘कबड्डी’को पाँचौं संस्करण ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शन मिति तय भएको छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।
दसैंको एक हप्तापछि र तिहारको करिब दुई हप्ता अघि, कार्तिक ६ गते अर्थात् अक्टोबर २३ देखि फिल्म प्रदर्शनमा आउन लागेको हो। यसअघि फिल्मलाई दसैंको अवसरमा प्रदर्शन गर्ने तयारी थियो। तर अन्य नेपाली फिल्महरुलाई दसैंको समयमा प्रदर्शनको अवसर दिनुपर्ने भन्दै ‘कबड्डी ५’लाई कार्तिक ६ गते रिलिज गर्ने निर्णय गरिएको निर्देशक गुरुङले बताएका छन्।
शुक्रबार सार्वजनिक गरिएको फिल्मको नयाँ पोस्टरमा दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई देख्न सकिन्छ। हिमाली पृष्ठभूमिमा तयार गरिएको पोस्टरमा तीनै कलाकारलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ।
‘कबड्डी’ शृंखलाले करिब १२ वर्षको यात्रा पार गर्दै पाँचौं संस्करणसम्म आइपुगेको छ। अघिल्ला फिल्मबाट दर्शकको निरन्तर साथ पाएको यो शृंखलाको नयाँ फिल्ममा पुराना कलाकारसँगै नयाँ कलाकार पनि जोडिएका छन्।

