पल शाह र मलिका महतको प्रेमबीच विपना थापाको पर्खाइ, यस्तो छ ‘आ बाट आमा २’ टिजर

‘आ बाट आमा २’को टिजरले पल शाह र मलिका महतको प्रेमसँगै विपना थापा र पलबीचको आमा–छोराको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। फिल्म असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

दसैँको परिवेश, आमाको पर्खाइ र सन्तानसँगको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको नेपाली फिल्म ‘आ बाट आमा २’को टिजर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक ३ मिनेट ३८ सेकेन्ड लामो टिजरमा पल शाह, मलिका महत र विपना थापालाई केन्द्रमा राखेर प्रेमसँगै आमा–छोराको संवेदनशील सम्बन्धको झलक देखाइएको छ।

टिजरको सुरुवाती भागमा कृष्णको भूमिकामा रहेका पल शाहले मलिका महतको पात्रलाई बोकेर हिँडिरहेको देखिन्छ। आमाको औषधि लिन अस्पताल पुगेका कृष्णले मलिकासँग जीवनभर साथ दिने भाव व्यक्त गरिरहँदा आमाको फोन आउँछ। तर उनी फोन उठाउँदैनन्।

त्यसपछि घर फर्किएका कृष्णले आमा अर्थात् विपना थापालाई सुतिरहेको अवस्थामा देख्छन्। आमाको अवस्था देखेपछि कृष्णको अनुहारमा देखिने डर र बेचैनीले टिजरलाई भावनात्मक मोड दिन्छ।

टिजरले प्रेमकथासँगै आमा र छोराबीचको सम्बन्धलाई कथाको महत्वपूर्ण आधार बनाएको संकेत गर्छ। दसैँको माहोल, पारिवारिक सम्बन्ध र आमाको प्रतीक्षालाई जोड्दै फिल्मले चाडपर्वमा परिवार र सन्तानको उपस्थितिको अर्थलाई कथामा समेट्न खोजेको देखिन्छ।

निर्माण पक्षले फिल्मलाई “दशैँको जमरा र आमाको पर्खाइको कथा”का रूपमा प्रस्तुत गरेको छ। टिजरमा भने पल शाह, मलिका महत र विपना थापा गरी तीन प्रमुख पात्रलाई मात्र केन्द्रमा राखिएको छ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको ‘आ बाट आमा २’ अघिल्लो फिल्म ‘आ बाट आमा’को सिक्वेल हो। फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय छ।

फिल्मको कथा, पटकथा तथा निर्देशन चन्द्र पन्तको हो। लेखनमा चन्द्र पन्तसँगै रोशन भट्ट रहेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता करण सिंह हुन्।

प्राविधिक पक्षमा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत र गम्भीर बिष्टको नृत्य निर्देशन छ। साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका छन् भने टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्।

ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ भने नेपालभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।

दसैँको अवसर पारेर ‘आ बाट आमा २’ आगामी असोज ३० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ। टिजरपछि फिल्मले कृष्ण, उनकी आमा र प्रेमसम्बन्धलाई कसरी एउटै पारिवारिक कथामा जोड्छ भन्ने विषयले दर्शकको चासो बढाउने देखिन्छ।

SUBSCRIBE 👉