ग्ल्यामर नेपाल, काठमाडौं । अर्घाखाँची खनदह गाविस काभरनेटामा १८ वर्ष अघि जन्मिएकी काजोल खनाल मोडलिङको क्षेत्रमा उदाउँदै गएकी नवप्रतिभा हुन् । मोडलिङमा लागेको करिब ६ महिना मात्र भए पनि यो समयमा उनले नेपालका चल्तीका गायकगायिकाहरुको गीतको भिडियोमा अभिनय कला देखाइसकेकी छन् ।
काजोलले गायिका अञ्जु पन्तको ‘जबसम्म मैले सास फेरिरहन्छु’, गायिका माण्डवी त्रिपाठीको ‘खोक्रो खोक्रो भयो जिन्दगीमा’ खुमन अधिकारी र पूर्णकला बिसीको तीज गीतलगायतका गीतमा आफ्नो प्रतिभा प्रष्फुटन गराइसकेकी छन् । अर्घाखाँचीकै आदर्श उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर ल्याब असिसटेन्टको पढाईलाई पूर्णता दिएकी काजोललाई मोडलिङ क्षेत्रमा आउन परिवारले पनि कहिल्यै अवरोध गरेन ।
‘सानैदेखि मोडलिङमा रुची भएकोले गर्दा पनि परिवारले पूर्ण समर्थन गरे,’हाल पाल्पामा प्रकाश ढकालको निर्देशनमा बनिरहेको सर्ट फिल्म ‘फलामको बाटो’मा अभिनयरत काजोलले भनिन्,‘विद्यालयमा हुने वार्षिकोत्सवका कार्यक्रममा गीत गाउँने, नाँच्ने र अभिनय पनि गर्ने भएकाले त्यही बेलादेखि नै मनोरञ्जनको क्षेत्रमा काम गर्ने रहर थियो ।’
आफ्नो खुबी र क्षमताले मोडलिङ क्षेत्रमा जम्ने सोच बनाएकी काजोल बाबु कुलप्रसाद र आमा नमालाई प्रेरणाको स्रोत मान्छिन् । मोडलिङका नाममा एक्सपोज हुने कामप्रति काजोल सचेत छिन् । ‘आफ्नो दायरामा राखेर कसैको दबाबभित्र नपरीकन कसैले केही पनि भन्ने वातावरण नआओस् भन्ने किसिमले काम प्रति म सचेत छु,’मोडलिङ अघि बुटवलको क्युरेक्स डाइगोनेस्टिक ल्याबोरेटरीमा दुई बर्ष ल्याब असिसटेन्टका रुपमा काम गरेकी काजोलले भनिन्,‘समय आएपछि फिल्ममा पनि काम गर्नेछु, अहिले केही फिल्मबाट अभिनयको अफर आए पनि राम्रो स्क्रिप्टका फिल्म छानेर मात्र अभिनय गर्नेछु ।’ फिल्ममा चकलेटी किसिमको भूमिकामा अभिनय गर्ने काजोलको इच्छा रहेछ ।
