प्रकाश सपुत, प्रमोद खरेल र देवेन्द्र बब्लु एकसाथ देश दौडाहामा, १३ सहरमा ‘सुरताल म्युजिकल टुर’

प्रकाश सपुत, प्रमोद खरेल र देवेन्द्र बब्लु आ-आफ्ना ब्याण्डसहित १३ सहरको सांगीतिक यात्रामा निस्कँदैछन्। असोज १० गते हिलेबाट सुरु हुने टुरको आम्दानीको एक हिस्सा विपद् प्रभावितलाई सहयोग गरिनेछ।

नेपाली संगीतका तीन फरक स्वाद अब एउटै मञ्चमा भेटिने भएका छन्। प्रकाश सपुतको ‘भाका नेपाल’, प्रमोद खरेलको ‘प्रमोद एन्ड परम्परा’ र देवेन्द्र बब्लुको ‘फिरन्ते’ ब्याण्डले सातै प्रदेशका १३ सहर पुग्ने गरी ‘सुरताल म्युजिकल टुर २०८३’ सुरु गर्दैछन्। असोज १० गते धनकुटाको हिलेबाट सुरु हुने यो सांगीतिक यात्रालाई मनोरञ्जनसँगै सामाजिक सहयोगसँग पनि जोडिएको छ।

सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रा.लि.को आयोजनामा हुने टुरमा तीनै टोलीले आफ्ना चर्चितसँगै नयाँ गीतहरू लाइभ प्रस्तुत गर्नेछन्। विशेषगरी प्रकाश सपुत यसपटक ट्र्याकमा मात्र निर्भर नभई ‘भाका नेपाल’ ब्याण्डसहित लाइभ मञ्चमा उत्रिनेछन्। प्रमोद खरेल ‘प्रमोद एन्ड परम्परा’सहित प्रस्तुत हुनेछन् भने ‘फिरन्ते’को नेतृत्व देवेन्द्र बब्लुले गर्नेछन्।

आयोजकले यसलाई सामान्य कन्सर्टभन्दा फरक अनुभव दिने गरी तयार पारिएको जनाएको छ। अत्याधुनिक साउन्ड र लाइटिङ, लाइभ इन्स्ट्रुमेन्टसँगै गीतको भावअनुसार कोरस डान्स र मञ्चीय अभिनयसमेत प्रस्तुतिमा जोडिनेछ। कार्यक्रम सञ्चालनको जिम्मेवारी निशा पन्थीले सम्हाल्नेछिन्।

संगीतसँगै विपद् प्रभावितका लागि सहयोग

‘सुरताल म्युजिकल टुर’को अर्को महत्त्वपूर्ण पक्ष यसको सामाजिक उद्देश्य हो। कार्यक्रमको खर्च कटाएर बाँकी हुने आम्दानीको २० प्रतिशत रकम बाढी तथा विपद् प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि उपलब्ध गराइने आयोजकले जनाएको छ।

यसअघि टुर पोखराबाट सुरु गर्ने तयारी थियो। तर बाढीका कारण उत्पन्न परिस्थितिपछि पोखरा र धरानका कार्यक्रम तत्कालका लागि स्थगित गर्दै हिलेबाट टुर सुरु गर्ने निर्णय गरिएको हो।

सुरताल इभेन्टका अध्यक्ष प्रशान्त सुनारका अनुसार यो यात्रा संगीत र मनोरञ्जनमा मात्र सीमित छैन। उनले भने, ‘यो सांगीतिक अभियान केवल मनोरञ्जनमा सीमित नभई विपद्को समयमा नागरिकसँग एकाकार हुने र नेपाली मौलिक संगीतलाई देशका कुना–काप्चासम्म पुर्‍याउने साझा संकल्प हो।’

हिलेबाट सुरु, १३ सहर पुग्ने यात्रा

टुरको पहिलो चरण असोज १० गते धनकुटाको हिलेबाट सुरु हुनेछ। त्यसपछि असोज १४ गते तेह्रथुम, १७ गते खाँदबारी र १९ गते बर्दिबासमा कार्यक्रम हुनेछ।

दोस्रो चरण मंसिर २ गते महेन्द्रनगरबाट सुरु हुनेछ। त्यसपछि मंसिर ५ गते धनगढी, ८ गते नेपालगञ्ज, १२ गते सुर्खेत, १६ गते तुलसीपुर, १९ गते बुटवल र २६ गते चितवनमा सांगीतिक कार्यक्रम आयोजना गरिनेछ।

यसअघि स्थगित गरिएका पोखरा र धरानका कार्यक्रम पनि पछि आयोजना गर्दै १३ सहरको सांगीतिक यात्रा पूरा गर्ने आयोजकको योजना छ। यसरी प्रकाश सपुत, प्रमोद खरेल र देवेन्द्र बब्लुका फरक सांगीतिक शैली एउटै टुरमार्फत देशका विभिन्न भूगोलका दर्शकमाझ पुग्नेछन्।

SUBSCRIBE 👉