
Sameer Bhatt and Krishu Shahi
प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘१२ गाउँ २’को गीत ‘लालीगुराँस’ रिलिज गरिएको छ। यसअघि एक्सनलाई प्राथमिकता दिएका प्रचार सामग्री ल्याएको चलचित्रले यसपटक समीर भट्ट र कृशु शाहीको प्रेमकथालाई अगाडि ल्याएको छ।
शिव परियार र सारोही कुमारको स्वर रहेको गीतमा युग भुसालको शब्द तथा संगीत छ। रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा समीर र कृशु प्रेमिल हाउभाउ र नृत्यमा देखिएका छन्।
गीतले प्रकृतिलाई प्रेमको बिम्ब बनाउँदै एकअर्काप्रतिको आकर्षण, सम्झना र समर्पणलाई समेटेको छ। प्रेममा परेपछि महसुस हुने खुसी र मायालुसँग जोडिएका कल्पना यसको भावमा छन्। मायालुको सम्झनाले पनि जीवन अघि बढाउने ऊर्जा दिन सक्छ भन्ने भाव गीतले व्यक्त गर्छ।
समीर र कृशुलाई केन्द्रमा राखिएको भिडियोले चलचित्रको प्रेमकथाबारे केही संकेत दिन्छ। एक्सनप्रधान टिजरपछि आएको यो गीतले दर्शकलाई समीरको रोमान्टिक भूमिकासँग पनि परिचित गराएको छ।
विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमार्फत कृशु शाही र वर्षा इटनीले नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गर्दैछन्।
चलचित्रमा समीर भट्ट, कृशु शाही र विराज भट्टसँगै अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय छ।
विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन्। महेश पौडेलले छायांकन गरेको फिल्ममा बन्दे प्रसादको सम्पादन छ।
चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत रहेको छ भने रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन्। एक्सन तथा द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले सम्हालेका छन्। काफिया फिल्मस् र कुबेर सिनेमाले चलचित्र वितरण गर्नेछन्।


