‘जिरो डिग्री’को नयाँ पोस्टरमा घोडा सवार विजय बरालको व्यङ्ग्यात्मक अवतार

विजय बराल अभिनीत डार्क कमेडी ‘जिरो डिग्री’ माघ १५, २०८३ मा प्रदर्शन हुने भएको छ। नयाँ पोस्टरमा उनी घोडामाथि फरक अवतारमा देखिएका छन्।

घोडा सवार विजय बराल, वरिपरि दुईवटा पंखा, ढाका टोपी, बाक्लो जुँगा र चस्मासहितको उनको यो रूप सामान्य फिल्म पोस्टरभन्दा निकै फरक छ। डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ले यही कौतूहलपूर्ण पोस्टरमार्फत आफ्नो नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ।

मेघौली फिल्म्सको ब्यानरमा बनेको चलचित्र २०८३ साल माघ १५ गते, अर्थात् जनवरी २९, २०२७ देखि नेपालका हलमा प्रदर्शन हुने भएको छ।

पोस्टरमा विजयलाई पुन्य चौलागाईँको पात्रमा प्रस्तुत गरिएको छ। परम्परागत पहिरनमा घोडामाथि बसेका उनी र साथमा देखिएका पंखाले फिल्मको अनौठो हास्यशैलीको संकेत गर्छ। यसअघि सार्वजनिक पोस्टरमा गाउँलेहरू पहाडी बाटो हुँदै एउटा ठूलो काठको बाकस बोकेर हिँडिरहेका देखिन्थे। दुवै पोस्टरले कथाबारे केही बताउँछ, तर पर्दामा के हुन्छ भन्ने जिज्ञासा पनि बाँकी नै छ।

फिल्मको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको विकट गाउँमा पुग्छ। आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान फर्किन समय लाग्छ। त्यतिन्जेल शव सुरक्षित राख्न गाउँमा ‘डीप फ्रिज’ पुर्‍याउने प्रयास सुरु हुन्छ। पहाडी बाटोमा त्यति ठूलो सामान बोकेर उक्लिँदा आउने झन्झट, मानिसहरूबीचको प्रतिक्रिया र त्यसले निम्त्याउने परिस्थितिबाट फिल्मको डार्क कमेडी अघि बढ्छ।

मृत्युजस्तो संवेदनशील विषय र त्यस वरिपरि बन्ने असहज परिस्थितिलाई हास्यसँग जोड्नु ‘जिरो डिग्री’को मुख्य आकर्षण हो। पोस्टरको चञ्चल दृश्य र कथाको गम्भीर आधारबीचको सम्बन्ध फिल्मले कसरी देखाउँछ भन्ने कुरा भने प्रदर्शनपछि थाहा हुनेछ।

चलचित्रको कथा र पटकथा सजन काफ्ले र आकास बरालले लेखेका हुन्। निर्देशन पनि उनीहरूले संयुक्त रूपमा गरेका छन्। ‘बेहुली फ्रम मेघौली’ पछि निर्देशक जोडीको यो दोस्रो चलचित्र हो। यो फिल्मलाई तिहारमा रिलिज गर्ने बताईएको थियो।

कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरलगायत स्थानमा छायांकन गरिएको फिल्ममा विजयसँगै सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री र शारदा सिलवालको अभिनय छ।

मोती कार्की कार्यकारी निर्माता हुन्। निशाल पौडेलले छायांकन, चानस पुन मगरले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन र अङ्कित बाबु अधिकारीले संगीतको जिम्मेवारी सम्हालेका छन्। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन्।

निर्माण पक्षका अनुसार उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र काठमाडौं उपत्यकामा डिसिएनले फिल्म वितरण गर्नेछन्।

SUBSCRIBE 👉