
Kameshwar Chaurasiya and Laxmi Bardewa
अभिनेता कामेश्वर चौरासियालाई महिलाको गेटअपमा र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको लुक्समा प्रस्तुत गरिएको पोस्टरले चासो बढाएको नेपाली फिल्म ‘परिवार’को टिजर सार्वजनिक भएको छ। पोस्टरले जन्माएको जिज्ञासालाई टिजरले अझ अगाडि बढाउँदै पति–पत्नीको झगडा, पारिवारिक तनाव र अचानक आउने अनौठो मोडको संकेत दिएको छ।
रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको टिजर कामेश्वर र लक्ष्मीबीचको खटपटबाट सुरु हुन्छ।
लक्ष्मी कामेश्वरलाई भन्छिन्, ‘तेरो विश्वासले मेरो परिवारको केही पनि वास्ता नगरीकन म भागेर आएँ के।’ त्यसको जवाफमा कामेश्वर भन्छन्,‘लग्जरियस लाइफ चाहिएको थियो भने पीआरवालासँग जानुपथ्र्यो कि तिमी।’
यी संवादले उनीहरूको प्रेम विवाह परिवारको पूर्ण सहमतिबिना भएको हुनसक्ने र त्यसपछि उनीहरूको वैवाहिक जीवनमा आर्थिक तथा पारिवारिक तनाव बढेको संकेत गर्छ।
टिजरमा उनीहरूको छोरीको भूमिकामा देखिएकी पात्रले भगवानसँग आफ्ना बाबुआमाबीच कहिल्यै झगडा नहोस् भनेर प्रार्थना गरेको दृश्य पनि समेटिएको छ। तर टिजरको सबैभन्दा रोचक मोड त्यसपछि आउँछ।
निद्राबाट ब्युँझिएका कामेश्वर र लक्ष्मी आ–आफ्नो शरीर छाम्दै अचम्मित देखिन्छन्। यसअघि सार्वजनिक पोस्टरमा कामेश्वर महिला र लक्ष्मी पुरुषको गेटअपमा देखिएका कारण यो दृश्यले उनीहरूको जीवनमा कुनै अनौठो परिवर्तन आउने संकेत गरेको छ। यद्यपि त्यसको वास्तविक रहस्य निर्माण पक्षले टिजरमै खुलाएको छैन। यही रहस्य फिल्मको मुख्य आकर्षणमध्ये एक बन्ने देखिन्छ।
‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारा राखिएको फिल्मले श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, जिम्मेवारी र पारिवारिक उतारचढावलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने संकेत गरेको छ।
मदन थापाको निर्देशनमा बनेको फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवासँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय छ।
फिल्मको लेखन प्रेम थापा र गणेश उपाध्यायले गरेका हुन्। निरज कँडेल डीओपी छन् भने विशेष महर्जन र जयन्द्र कुँवरले छायांकन गरेका छन्। एनबी महर्जनले एक्सन निर्देशन गरेका छन्।
रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माता छन्। शाही फिल्म प्रोडक्सन र विशआई फिल्म्ससँगको सहकार्यमा फिल्म निर्माण गरिएको हो।
यसअघि सार्वजनिक पोस्टरमै कामेश्वरलाई महिलाको अवतार र लक्ष्मीलाई पुरुषको गेटअपमा प्रस्तुत गरिएको थियो। फिल्म कात्तिक १३ अर्थात् October 30, 2026 बाट प्रदर्शनमा आउने तय गरिएको छ।


