
Dr. Kapil Rijal, winner of Best Director (Man) for Gauthali at the Autumn Edition of France’s RED Movie Awards 2026.
नेपाली चलचित्र ‘गौथली’का निर्देशक डा. कपिल रिजालले फ्रान्सको RED Movie Awards 2026 अन्तर्गत Autumn Edition मा उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। चलचित्रमा उनको निर्देशनले ‘Best Director (Man)’ विधामा अन्तर्राष्ट्रिय सम्मान पाएको हो।
सार्वजनिक विजेता सूचीमा BEST DIRECTOR (MAN) Gauthali – Kapil Rijal उल्लेख छ। पारिवारिक सम्बन्ध र महिलाले भोग्ने पीडाको कथालाई पर्दामा प्रस्तुत गरेको चलचित्रका लागि यो उपलब्धि जोडिएको हो।
‘गौथली’को कथामा विवाहसँगै बदलिने एक महिलाको जीवन, उनका अधुरा सपना र परिवारभित्रको संघर्ष समेटिएको छ। चलचित्रको टिजरले पढाइ र सुखी जीवनको सपना बोकेकी युवतीले विवाहपछि सामना गर्ने कठिन परिस्थितिलाई मुख्य स्थान दिएको थियो।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर र रवीन्द्र झालगायत कलाकारको अभिनय छ। डा. भोला रिजालले लेखेको कथामा निर्देशक रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले पटकथा तथा संवाद तयार गरेका हुन्।
फ्रान्सको रिम्ससँग सम्बन्धित RED Movie Awards ले वर्षभरि विन्टर, स्प्रिङ, समर र अटम गरी विभिन्न संस्करणमा चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कृत गर्छ। ती संस्करणका विजेतामध्येबाट वार्षिक प्रतिस्पर्धाका लागि छनोट हुन सक्ने व्यवस्था छ। रिजालले यसपटक अटम संस्करणको निर्देशन विधामा सफलता हासिल गरेका हुन्।
यस अवसरमा सार्वजनिक बधाई सन्देशमा ‘गौथली’लाई साथ दिने दर्शक, शुभचिन्तक, आफन्त तथा चलचित्रप्रेमीप्रति आभार व्यक्त गरिएको छ। परिवारका सदस्य र शुभचिन्तकहरूले निर्देशक रिजाललाई बधाई दिँदै आगामी सिर्जनात्मक यात्राको सफलताका लागि शुभकामना दिएका छन्।









