
Bijay Baral and Anjana Baraili in “Basaiko Suplakhe,” the Sindure Jatra duet sung by Prashant Siwakoti and Melina Rai.
‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बराल र अञ्जना बराइलीलाई फेरि पर्दामा जोडीका रूपमा हेर्न चाहने दर्शकका लागि उनीहरूको नयाँ गीत आएको छ। शनिबार सार्वजनिक भएको ‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’मा विजय र अञ्जना प्रेमी–प्रेमिकाको भूमिकामा सँगै नाचेका छन्।
प्रशान्त सिवाकोटी र मेलिना राईले गाएको यो युगल गीतमा दुई प्रेमी आँखाको इसारामै मनका कुरा साट्छन्। सुरज गैरे विवशका शब्दमा प्रेमको सुरुवाती लाजसँगै जीवनभर एकअर्काको साथ दिने वाचा पनि छ। गीतको संगीत प्रशान्तले नै दिएका हुन्।
विजय र अञ्जनालाई फेरि जोडीका रूपमा प्रस्तुत गर्ने निर्देशक पनि ‘पूर्णबहादुरको सारङ्गी’कै सरोज पौडेल हुन्। उनकै कथामा सबिन अधिकारी र वसन्त न्यौपानेले ‘सिन्दुरे जात्रा’ लेखेका छन्। फिल्ममा विनोद न्यौपाने, उषा खड्गी, कमलमणि नेपाल, भोला राज सापकोटा र रजनी गुरुङलगायतको पनि अभिनय छ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा नेम महर्जनले निर्माण गरेको ‘सिन्दुरे जात्रा’ मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने तय भएको छ। ‘बाँसैको सुप्लाखे’को भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ।








