काठमाडौं । गायिका जशोदा सुब्बा ‘धुनहरु’ एल्बम लिएर श्रोतामाझ आएकी छन् । जशोदाको यस पहिलो एकल गीति एल्बमलाई बिहीबार राजधानीमा एक कायक्रमबीच गायिका कुन्ती मोक्तानले सार्वजनिक गरिन् ।
एल्बम सार्वजनिक गरेपछि गायिका मोक्तानले यशोदाको गायन प्रतिभाको प्रशंसा गर्दै नेपाली सांगीतिक क्षेत्रमा एक महिला स्वर थपिएको बताइन् । उनले भनिन्, ‘गायनमा संख्याको आधार पुरुषको तुलनामा महिला निकै कम छन् । तर, कला र प्रतिभामा पुरुषभन्दा कम छैनन् । एल्बम ‘धुनहरु’सँगै नेपाली संगीत क्षेत्रमा एक प्रतिभाशाली महिला स्वर थपिएको छ ।’
गायिका जशोदाको ‘धुनहरु’ पहिलो एल्बम भए पनि उनले गाएका ‘धरान सुनसरी’ लगायतका केही गीत चर्चामा आइसकेका छन् । केही वर्षयता दक्षिण कोरियामा बस्दै आएकी ताप्लेजुङकी यी गायिकाले भनिन्, ‘गायनमा मेरो सानैबाट रुचि थियो । तर, अहिले आएर बल्ल एल्बम ल्याउन सफल भएँ ।’ उनले एल्बम ल्याउन निकै मिहिनेत गरेको बताउँदै भनिन्, ‘कोरियामा पनि गायनलाई निरन्तरता दिइरहेँ । एउटा गीत कोरियामै रेर्कड गरेकी हुँ ।’ ‘धुनहरु’ आफ्नो पहिलो एल्बम भए धुनहरुको दुनियाँमा स्थापित हुन सक्ने अपेक्षा लिएको जशोदाले बताइन् ।
रुबुशा क्रियशन वर्कस्ले बजारमा ल्याएको ‘धुनहरु’ मा चार वटा गीत समावेश छन् । जसमा तिमीलाई आफ्नो भनि, निदै छैन, म कोपिला सरी र सबैको नजर बोलका गीत रहेका छन् । कार्यक्रमा एल्बमको ‘तिमीलाई आफ्नो भनि’ गीतको म्युजिक भिडियो समेत देखाइएको थियो । निकेश खड्काले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अकेशा विष्ट र निराजन भण्डारीले मोडलिङ गरेका छन् ।