नेपाली चलचित्रको पर्दामा सफल मानिएको जोडी हो, नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको। गतबर्षको सफल चलचित्र ‘नोभेम्बर रेन’ पछि यो जोडीको माग पर्दामा ह्वात्तै बढ्यो। चलचित्रको सफलताले दुई कलाकारलाई मात्र सफल बनाएन, यसको निर्माण कम्पनी र अन्य युनिटलाई पनि सफलताको स्वाद चखाइदियो।
सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको व्यानरले ‘नोभेम्बर रेन’को सफलतापछि नयाँ चलचित्र ‘क्लासिक’ निर्माण गरेको छ। एकसाथ काम गरेर सफल बनेका यी दुई ब्यानरले निर्माण गरेको ‘क्लासिक’को कुनै पनि तस्बिर हालसम्म बाहिरिएको छैन। यसकारण पनि यो चलचित्र दर्शकका लागि प्रतिक्षामा छ।
माघ २९ गते नेपालभर प्रदर्शनमा आउने तयारीका साथ धमाधम यो चलचित्रको काम भैरहेको छ। दर्शकको प्रतिक्षाको घडीलाई समाप्त गर्दै चलचित्रको निर्माण यूनिटले यसको फस्ट लुक सार्वजनिक गरेको छ।
दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन केही दिन बाँकी छ। निर्माता सुवास गिरीले चलचित्रको पोष्ट प्रोडक्शनको कामसँगै प्रचारलाई पनि सुरुवात गरिएको बताए। उनले भने–‘हामीले अहिलेसम्म कुनै पनि तस्बिर सार्वजनिक नगरेर चलचित्रलाई दर्शकलाई उत्सुकतामा राखेका छौ। फस्ट लुकबाट चलचित्रको बारेमा दर्शकले केही जानकारी पाउनुहुनेछ ।’
राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द्ध, रेनशा वान्तवा राइको कोरियोग्राफी, छेतन गुरुङको लेखन चलचित्रमा छ। सांगीतिक लभस्टोरी यो चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठले आँखा देख्न नसक्ने पात्रको भूमिका निर्वाहा गरेका छन्। उनीहरुलाई सुशिल काफ्ले, प्रज्वल गिरी, रोमी घिमिरे लगायतले साथ दिएका छन्।
थप पोस्टरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्
सार्वजनिक फस्टलुकले चलचित्र भित्रका विभिन्न पाटोहरुलाई चित्रित गरेको छ। चलचित्र सांगीतक लभस्टोरीको साथमा यसमा गाँसिएका हाँसो, मित्रता, प्रेम, वियोगका कुरालाई फस्ट लुकले प्रतिविम्बित गरेको छ। प्रेम दिवसको अवसर पारेर दर्शकलाई हामीले सांगीतिक लभस्टोरी चलचित्र पस्कने तयारी गरेका छौ, नायक आर्यन सिग्देलले भने।