गायन तथा नृत्य रियालिटि शो ‘सुर ताल’को दोस्रो सिजनको ग्राण्ड फिनालेमा १३ जना प्रतिस्पर्धीहरुको कडा प्रतिस्पर्धा हुने भएको छ। नृत्यतर्फ ७ जना र गायन तर्फ ६ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेको लागि चयन भएका भएको आयोजकले बताएको छ। शनिबार भएको सेमिफाईनल राउण्डमा गायनतर्फका उत्कृष्ट १० र नृत्यतर्फका उत्कृष्ट १० बाट निर्णायकले ग्राण्ड फिनालेका लागि उनीहरुलाई छनौट गरेका हुन्। पुस १८ गते पोखरा सभागृहमा हुने ग्राण्ड फिनालेमा उनीहरु उत्कृष्ट एकको लागि भिड्नेछन्।
गायन तथा नृत्य प्रतियोगिता ‘सुर ताल’मा १० जिल्लाबाट करिब एक हजार जना प्रतिभाहरु मध्येबाट छानिएर उनीहरु यहाँसम्म आईपुगेका हुन्। शनिबार भएको अडिसनको क्रममा गायनतर्फ रामभक्त जोजिजु र योगेश काजी बिसी निर्णायक रहेका थिए । त्यस्तै नृत्यतर्फ गोरे गुरुङ र देवराज राई निर्णायक रहेका थिए। शनिबारको कार्यक्रममा गायक, संगीतकार तथा कवि पदमराज ढकाल विशेष आकर्षणको रुपमा रहेका थिए। उनले सुर तालमा सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सफलताको शुभकामना समेत दिएका थिए।
प्रतियोगिताको आयोजक सुरताल कला केन्द्रका प्रशान्त सुनारले ग्राण्ड फिनाले निकै भव्य र सभ्य हुने बताए। ग्राण्ड फिनालेको तयारी तिव्र पारिएको पनि उनले जानकारी दिए। प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ विजेता बन्नेलाई हार्टफोर्डको स्कुटर प्रदान गर्ने आयोजकले बताएको छ। त्यस्तै दुवै विधामा दोस्रो हुने प्रतियोगीलाई २० हजार रुपैयाँ नगद प्रदान गर्ने उसले जनाएको छ।

