क्यान्सर मृत्युको कारण होइन् : मनिषा


manisha-koirala-1

फिल्ममा फर्कने चाह

ग्ल्यामर नेपाल, काठमाडौं । नेपालीमूलकी भारतीय अभिनेत्री मनिषा कोइराला क् यान्सरविरुद्धको जागरुकता अभियानमा निकै सक्रिय हुन थालेकी छिन्। डेढ वर्ष अघि उनी पाठेघर क्यान्सरलाई पराजित गर्न सफल भएकी थिइन्। सोही कारण केही समययता उनी ठाउँठाउँमा पुगेर आफ्नो अनुभव बाँडिरहेकी छिन्। यस्तैमा हालै मुम्बईमा भएको एक कार्यक्रममा उनले क्यान्सर मृत्युको कारण नभएको बताएकी छिन्। महिला स्वास्थ्यसम्बन्धी म्यागजिन ‘प्रिभेन्सन’को लञ्चिङमा उनले क्यान्सरलाई पराजित गर्न सकिने बताएकी हुन्। उक्त म्यागाजिनले आफ्नो नयाँ अंकको कभरमा मनिषालाई समेटेको छ।
manisha-koirala-3

‘म पहिलो आफ्नो स्वास्थ्यको कति पनि ख्याल गर्दैनथें तर अहिले निकै सजक छु। किनभने क्यान्सर फेरि फर्कने पनि डर छ,’ बिना मेकअप, खुकुलो कालो सेतो धर्के पहिरनमा कार्यक्रममा उपस्थित भएकी मनिषाले भनिन्, ‘तर अब मलाई मृत्युसँग कसरी डिल गर्नुपर्छ भन्ने थाहा छ।’ उनले आफूलाई क्यान्सर भएपछि जीवनलाई वास्तविक रुपमा बुझेको र अहिले जीवनबाट भरपूर आनन्द लिइरहेको बताएकी थिइन्। ‘कसरत, योग र पेन्टिङ गरेर रमाइरहेकी छु,’ उनले भनिन्। क्यान्सरका कारण आफूले शरीरको स्याहार गर्न सिकेको, खानपानमा अनुशासित भएको तथा मन र शरीर दुवैको महत्व बुझेको उनको भनाई थियो। ‘म पहिले खानपिनमा अनुशासित थिइन तर, क्यान्सरले मलाई खानमा अनुशासित बनाएको छ। शरीर र मनको महत्व बोध गराएको छ,’ कुनै बेला मदिरा र चुरोटको सौखिन रहेकी उनले भनिन्।

manisha-koirala-2
मनिषाले आफू विरामी भएका बेला परिवार र साथीहरुबाट निकै न्यानो स्नेह, माया र हेरचाह पाएको भन्दै खुशी व्यक्त गरेकी थिइन्। साथै बलिउड अभिनेत्री तब्बु, अभिनेताहरु गुलशन ग्रोबर, शत्रुघन सिन्हाले पनि आफूलाई हौसला दिएको उनले बताइन्। कार्यक्रममा उनले पुस्तक लेखिरहेको पनि खुलासा गरेकी थिइन्।

क्यान्सर अनुभवपछि मनिषाले आफू फिल्ममा फर्कन आतुर रहेको बताइएकी थिइन्। ‘म ठूलो पर्दामा फेरि देखिन आतुर छु, तर उचित भूमिका पाइरहेकी छैन्,’ उनले भनिन्। छोटो भूमिकाको लागि आफूले इन्कार गरेको उनले जानकारी दिइन्। ‘दुई चार मिनेटका भूमिकामा काम गर्न चाहन्न। महत्वपूर्ण भूमिकाको प्रतिक्षामा छु,’ उनले आफ्नो भित्रि चाह पोखेकी थिइन्।

मनिषाले सन् १९९१ मा ‘सौदागर’ बाट बलिउडमा फिल्ममा प्रवेश गरेकी थिइन्। त्यसयता उनले ‘बम्बे,’ ‘खामोशी,’ ‘मन,’ ‘अकेले हम अकेले तुम,’ ‘१९४३ अ लभ स्टोरी’ ‘सौदागर’ ‘दिल से,’ ‘कम्पनी’ जस्ता दर्जनौं हिट फिल्म दिएकी छिन्।

SUBSCRIBE 👉