फिल्म प्रचार कै लागि लगनगाँठो हल्ला ! हलबाट फिल्म उत्रिएसँगै सेलायो विवाह प्रसंग


हिरोइन शिल्पा पोखरेलले दुई वर्षअगाडि रुन्चे स्वरमा मिडियासामु भनेकी थिइन्, ‘छविराज ओझासँगको अफेयरको हल्लाले निकै तनावमा छु। परिवार र आफन्तको गाली खानुपरेको छ। बुबा उमेरको मान्छेसँग कसरी अफेयर हुन्छ ?’ यसरी दु:ख पोखेपछि शिल्पाप्रति सान्त्वना बढ्यो। तर, यसबीचमा उनको भावनामा के बदलाव आएछ कुन्नि, सार्वजनिकरुपमै छविले विवाहको प्रस्ताव राखे, आफू सकारात्मक रहेको भन्न थालिन् मुस्कुराउँदै।

Shilpa Pokharel | Chhabiraj Ojha

छविले त पहिलेदेखि नै शिल्पालाई पत्नी बनाउन आतुर रहेको बताइरहेका नै हुन्। दुवैले हरियो झन्डा देखाएपछि मसला बनिहाल्यो, समाचारमा छाएको छायै। दसैँको पूर्वसन्ध्याको तमासा हो यो, जतिबेला छवि निर्मित र शिल्पा अभिनीत किस्मत २ रिलिजको सँघारमा थियो।

प्रमोसनको मूल माध्यम नै प्रेम र विवाहको किस्सा बन्यो/बनाइयो। जब कि, भदौको मध्यसम्म पनि शिल्पा यस सम्बन्धका बारेमा हिचकिचाएझैँ गर्थिन्। हलबाट फिल्म उत्रिएसँगै लगनगाँठो कस्ने प्रसंग सेलाउँदै गएको छ। फोकटमा फिल्मको प्रचार गर्नकै लागि उनीहरूले अफेयरको हल्ला फिँजाएको प्रमाणित भएको छ।

आफ्नो र छविको प्रेमसम्बन्धको हल्लाले लज्जा हिट भएको शिल्पा हाकाहाकी स्वीकार्छिन्। भन्छिन्, “छविको गर्लफ्रेन्ड कस्ती रहिछिन् भनेर हेर्न पनि हलमा दर्शकको ओइरो लाग्यो।” यस्तै रवैया नियालिरहेका निर्देशक नवीन सुब्बाले राजधानीमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘अझै पनि फिल्म कसरी राम्रो बनाउनेभन्दा कस्ता फन्डाले फिल्म चल्छ भन्नेतिर निर्माताको ध्यान हुन्छ।’
साभार : गोकर्ण गौतम / नेपाल साप्ताहिक

SUBSCRIBE 👉