थिएटर मलमा गोठालेको नाटक ‘भोको घर’


सुन्धारा स्थित नाटकघर थिएटर मलमा नयाँ नाटकको मञ्चन भैइरहेको छ। सुप्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाटक ‘भोको घर’को पुस १ गतेदेखि मञ्चन सुरु भएको हो। नाटकलाई थिएटर मलका कला निर्देशक तथा युवा रंगकर्मी केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका छन्।

Drama

नाटकमा एकै परिधिमा रुमलिरहने वा रुमलिरहन बाध्य हुने मध्यम वर्गीय सोच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्यालाई दृश्यमा उतारिएको छ। मध्यम वर्गको आवश्यकता, सपना, महत्वकांक्षाका साथै समस्या र दुर्घटनाको अवस्थालाई नाटकले मूल विषय बनाएको छ।

गोठालेले तीसको दशकमा लेखेका नाटक ‘भोको घर’ अहिले पनि उत्तिकै सान्दर्भिक भएको निर्देशक श्रेष्ठ बताउ“छन्। उनी भन्छन्, ‘समयान्तरसँगै मानिसका सपनाका तह बढेपनि स्वरुप उहि रहँदा यस नाटक हरेक समयको प्रतिनिधि हुनसक्छ।’ ८ वर्ष अघि श्रेष्ठले यस नाटकमा आफैले अभिनय गरेका थिए। अहिले प्रस्तुतिलाई कला र प्रविधिको माध्यमले समसामयिक बनाएर आफैले निर्देशन गरेका हुन्।

नाटकमा साठीको दशकको मध्यतिरबाट रंगकर्ममा उत्रेका कलाकारहरुले अभिनय गरेका छन्। कहिले सिनेमा कहिले नाटक गर्दै आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी र अभय बरालले फेरि रंगमञ्चमा मन मिलाएका छन्। घनश्याम श्रेष्ठको सुन्दर मञ्च तथा प्रकाश परिकल्पनाले नाटकलाई अझै कलात्मक बनाएको छ।

थिएटर मलमा पुस २३ गते सम्म बुधबार बाहेक हरेक साँझ नाटक ‘भोको घर’ मञ्चन हुनेछ। शनिबार दिउँसो १ः३० बजे पनि अतिरिक्त शो राखिएको थिएटर मलले जनाएको छ।

SUBSCRIBE 👉