जेठ १२ मा नम्रता र कोशिशको पर्व


‘काले दाई काले दाई’ बोलको गीतले युटुबमा ५० लाख भन्दा बढी दर्शकको साथ पाइसकेको छ। पार्टी, बिहेदेखि हरेक चाडपर्वमा समेत यहि गीत बजेको छ। यो गीत चलचित्र ‘पर्व’को हो। दिनेश राउतले निर्देशन गरेको यो चलचित्रको ‘काले दाई काले दाई’ बोलको गीतमा चलचित्रकी मुख्य नायिका माला लिम्बु र निर्देशक निश्चल बस्नेतले नृत्य गरेका छन्।

चलचित्रको गीत हिट भएपछि दर्शकले ‘पर्व’को प्रदर्शन मिति पनि पर्खिरहेका छन्। गीत जस्तै चलचित्र पनि सुपरहिट हुनेमा यसको निर्माणपक्ष पनि विश्वस्त छ। टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको यो चलचित्र चैत्र २५ गतेबाट रिलिज हुने बताइएको थियो। तर, अब यो चलचित्र तोकिएको मितिमा प्रदर्शनमा नआउने भएको छ। निर्माणपक्षले दिएको जानकारी अनुसार अब ‘पर्व’ आउँदो बर्षको जेठ १२ गतेबाट नेपालभर रिलिज हुने भएको छ।

सुवास गिरी र निकिता पौडेलले यो चलचित्रको निर्माण गरेका हुन्। निर्देशक दिनेश राउतले चलचित्रको प्रदर्शन मिति पछाडि सार्नुको कारणबारे भने–‘दर्शकहरुले ‘काले दाई काले दाई’ बोलको गीत मन पराइदिनुभएकोमा हामी अत्यन्त खुशी छौ। यसैले, दर्शकलाई चाडो भन्दा चाडो चलचित्र देखाउने हाम्रो चाहना थियो। तर, प्राविधिक कारणले चैत्र २५ मा चलचित्र रिलिज नहुने भो। अब, जेठ १२ गते चलचित्र दर्शकमाझ आउनेछ ।’

निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पछाडि सार्नुको कारण विदेशमा प्रदर्शनको व्यवस्था मिलाउनका लागि पनि भनेको छ। निर्माता मध्येका एक सुवास गिरीले भने–‘हामी, दर्शकले पर्खाइमा राखेको चलचित्र नेपालसँगै विदेशमा पनि एकसाथ रिलिज गर्ने तयारीमा छौ। यसैका लागि, केहि समय लागेको हो। जसले गर्दा, चैत्र २५ गतेबाट चलचित्रको प्रदर्शन मिति सारेर जेठ १२ लाई तोकिएको हो।’

चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । एउटा पर्वमा घटेको घटना र त्यसपछि एक पात्रमा उत्पन्न हुने उत्तेजनात्मक भावको कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ।

SUBSCRIBE 👉