सालिक प्राय गरेर निधनपछि निजको स्मरणका लागि सम्मानस्वरूप सार्वजनिक स्थानमा स्थापना गर्ने गरिन्छ। तर नायक निखिल उप्रेतीले आफ्नै अर्धकदको प्रतिमा उपहारस्वरूप पाए। तपाइले यदि चलचित्र ‘राधे’को ट्रेलर हेर्नुभएको छ भने, त्यसमा कलाकार शिशिर भण्डारीले निखिलको मुर्ती ढालिदिएका छन्। निखिलको त्यो मुर्ती किन ढालियो भन्ने वुझ्न त चलचित्र नै हेर्नुपर्छ।
तर, निखिलको सोहि मुर्ती बनाउने मुर्तीकारले उनलाई उपहार स्वरुप उनको अर्धकदको मुर्ती उपहार दिएका छन्। वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘राधे’ले काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा निखिललाई मूर्तिकार नवीन सुवेदीले फिल्म ‘राधे’ का लागि बनाइदिएको उक्त प्रतिमा निखिललाई सम्हालेर राख्न आग्रह गर्दै उपहार दिएका हुन्।
यो चलचित्रलाई जगदिश्वर थापाले लेखन तथा निर्देशन गरेका हुन्। पत्रकार सम्मेलनमा नायक निखिल उप्रेती, नायिका प्रियंका कार्कीको साथमा अन्य कलाकारहरु प्रमोद अग्रहरि, शिशिर भण्डारी उपस्थित थिए। नायिका अशिष्मा नकर्मी भने कार्यक्रममा उपस्थित हुन सकिनन्।
सुशिल पोखरेलको कथामा निर्माण भएको यो चलचित्रले वेपत्ता पारिएको एक पात्रको कथालाई उठान गर्नेछ। कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले ‘राधे’ सबै नेपालीको कथा भएको बताए। उनले चलचित्रमा आफूले यसपटक अभिनय गर्ने कोशिश गरेको सुनाए। यस्तै, नायिका प्रियंका कार्कीले आफूलाई यो चलचित्रको प्रतिक्षा रहेको सुनाइन्। निर्माता सुशिल पोखरेलले यसपटक दर्शकले ‘राधे’मा निखिलको एक्सनस“गै एउटा फरक कथा हेर्न पाउने बताएका थिए।