युट्युवमा हिट ‘पर्व’ को काले दाई । १ करोड भन्दा बढी पटक हेरियो


नेपाली चलचित्रका गीतहरुले आजभोलि युटुबमा राम्रो स्थान पाउन थालेका छन्। दर्शकले मन पराएका गीतहरुले अब १ करोड पटक भ्यू पाउनु नौलो कुरा हुन छाडेको छ। यो नेपाली चलचित्र क्षेत्रका लागि खुशीको कुरा हो।

जेठ १२ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीत पनि अब १ करोड भ्यू पाउने गीतको सूचीमा जोडिएको छ। रिलिज भएको ५ महिनामा यो गीतको भिडियो युटुबमा १ करोड भन्दा बढी पटक हेरिएको छ। चलचित्रको यो गीतका कारणले पनि चलचित्रको व्यापारमा फाइदा पुग्ने देखिन्छ।

मिना निरौला र निश्चल बस्नेतको स्वर, कोशिश क्षेत्रीको संगीत र दिनेश राउतको शब्द रहेको यो गीतलाई दर्शकले निकै मन पनि पराइरहेका छन्। भिडियोमा माला लिम्बु सँगै निश्चल बस्नेतले नृत्य गरेका छन्। कविराज गहतराजले यो भिडियोको कोरियोग्राफी गरेका हुन् भने राजेश श्रेष्ठले खिचेका हुन्।

सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्। चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ। चलचित्रको सस्पेन्स–थ्रिलर ट्रेलर पनि सार्वजनिक भैसकेको छ, जसलाई दर्शकले निकै रुचाएका छन्।

SUBSCRIBE 👉