सुशीलको एक्सन र पञ्चलाईनले भरिएको कारखानाको ट्रेलर, के होला मुलकथा ?


‘बिहे भनेको त आफ्नै गर्ल फ्रेन्डसँग गर्नुपर्छ, अर्काको गर्लफ्रेन्डसँग त बाबुआमाले पनि गर्दिहाल्छन नि।’ हिरो सुशील श्रेष्ठको यही संवादसँगै सुरु हुन्छ, कारखानाको ट्रेलर। त्यसलगत्तै अर्का सहायक कलाकारको संवाद छ, ‘यो सिटी अनि यहाँका ठिटीहरुलाई पनि तेरो नाम थाहा नहुने कुरा हुन्छ !’ फेरि सुशीलकै संवाद सुनिन्छ, ‘आफैंलाई भुलेर कसैको यादमा रुझ्नु सायद यही नै माया हो।’ अर्थात ‘ब्याक टु ब्याक’ पञ्चलाइन। यस्ता अरु धेरै क्याच्ची संवाद प्रशस्त छन्, कारखाना फिल्मको ट्रेलरमा।

अमरदीप सापकोटा निर्देशित यस फिल्ममा सुशीलसँग वर्षा सिवाकोटी मुख्य रोलमा छिन्। यद्यपी ट्रेलरमा सुशीललाई निकै प्राथमिकता दिईएको छ किनभने उनी फिल्मका कलाकारमध्ये सबभन्दा बिकाउ अनुहार हुन्।

Barsha Siwakaoti Sushil Shrestha Photo

ट्रेलरलाई अझ नजिकबाट नियाल्ने हो भने संवाद जत्तिकै महत्व दिइएको छ, एक्सनलाई पनि। गुन्डाहरुको भीड अनि सुशीलको फाइटलाई आकर्षकसँग देखाउने प्रयास गरिएको छ। जारको बोतलको चाङमा गाडीले हानेर पानी छरपस्ट भएको दृश्य रोचक लाग्छ। अनि सुशीलको सिक्स्प प्याक बडीलाई त्यतिकै आकर्षक तरिकाले देखाईएको छ। यसले खासगरी उनका महिला फ्यानहरुलाई फिल्म हल सम्म तान्ने अनुमान लगाउन सकिन्छ। आफ्नो डेब्यु फिल्ममा होस्टल रिटन्र्समा पनि उनले आफ्नो शरीरलाई खुबै मिहनेत गरेर तयार पारेका थिए।

पञ्चलाइन र एक्सनकै बीचमा ट्रेलरमा मुल कथाको छनक दिइएको छ। भलै त्यो कुन विषय हो, फिल्म युनिटले गोप्य राख्न खोजेको छ। मौसमी मल्ल नेगेटिभ रोलमा देखिन्छिन्। वर्षा औसत मात्र लाग्छ। उनका अघिल्ला फिल्म भन्दा खासै स्ट्रङ र युनिक क्यारेक्टर छ भनेर ट्रेलरबाट भन्न सकिने अवस्था छैन। ट्रेलरमा सुगम पोखरेलको स्वरमा सजिएको ‘मायाले बोलेको बोली मिठो भो…’ गीत पनि समावेश छ।

ट्रेलरबाट फिल्म एक्सन, रोमान्स र अनि रोनारोधा मिसाएर मसलेदार बनाउन खोजेको अनुमान लगाउन सकिन्छ।

SUBSCRIBE 👉