लिटिल मिस वर्ल्ड युनिभर्समा दृष्टि दाहाल


dristi-dahal-4ग्ल्यामर नेपाल, काठमाडौं। आगामी मे १३ तारिखका दिन टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा हुने लिटिल मिस वर्ल्ड युनिभर्सको फाइनल प्रतिष्पर्धामा सहभागिता जनाउन नेपालबाट दृष्टि दाहाल गएकी छन्। मोरङ उर्लाबारी घर भई हाल डिल्लीबजारस्थित एनआइसी एकेडेमीमा कक्षा आठमा अध्ययनरत १२ वर्षीया दृष्टि गत फागुन ३ गते राजधानीमा इप्लानेटले आयोजना गरेको ‘लिटिल मिस नेपाल’ को विजेता हुन्।

संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार टर्कीको कार्यक्रममा सहभागिता जनाउनुअघि दृष्टिलाई कलाकार शिरोमणी दवाडी, सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मी लगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए। टर्कीमा उनले नेपालको संस्कृति झल्कने एउटा सांस्कृतिक नृत्यसमेत प्रस्तुत गर्ने सापकोटाले बताए। दृष्टि अभिभावक आमा यशोदा दाहालका साथ टर्की गएकी हुन्। प्रतियोगितामा उनका लागि डिजाइनर बिन्जना गुरुङ्गले पहिरन तयार पारेकी छन्। प्रतियोगिताको फाइनल वैशाख २९ गते हुँदैछ।

विगत २१ वर्षदेखि टर्कीमा आयोजना हुंदै आएको बालबालिकाको यो अन्तराष्ट्रिय प्रतियोगितामा ४३ राष्ट्रका बालबालिकाले सहभागिता जनाउँदैछन्। प्रतियोगितामा नेपालबाट पहिलोपटक सहभागिता जनाउन लागिएको हो। राजधानी र मोफसलमा बालबालिका तथा किशोरी र युवतीदेखि गृहिणीहरुसम्मका लागि प्रतिभामुखी तथा सौन्दर्यमुखी प्रतियोगिताहरु आयोजना गर्दै आएको ईप्लानेटले विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सात उपाधि नेपाल भित्र्याईसकेको छ।

लिटिल मिस वर्ल्ड युनिभर्समा पुगेकी दृष्टि दाहालका केहि तस्विरहरु हेर्नुहोस

 

SUBSCRIBE 👉