नायिका ऋचा भन्छिन्: युवा अब देश बनाऊँ (म्युजिक भिडियो)


ऋचा शर्मा अभिनित सामाजिक सन्देशमुलक म्युजिक भिडियो आकाशैको नौलाखे तारा रिलिज भएको छ। विहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हस्तलिखित गलैंचाका विश्वप्रसिद्ध डिजाइनर जोन केथले भिडियो सार्वजनिक गरे।

छिरिङरितार शेर्पा निर्देशित भिडियोमा ऋचा, टीकाभक्त जिरेल र गलैंचा उत्पादनमा सक्रिय कामदारहरुले अभिनय गरेका छन्। कार्यक्रममा बोल्दै निर्देशक शेर्पाले जीवनका वास्तविक पात्रको कथालाई पर्दामा उतार्न पाउँदा निकै खुशि महसुस भएको बताए।

‘मेरो रुचि वास्ताविक पात्रको चित्रण नै हो’ उनी सुनिए, ‘यस म्युजिक भिडियोले ती पात्रको पीडा र मनोदशालाई भन्छ।’ उनले यस सांगीतिक भिडियोले मन छोएको बताए । ‘फिल्मजस्तै संगीतबाट पनि कथा भन्न सकिन्छ’ उनले भने।

अभिनेत्री शर्माले यथार्थ पात्रको जीवनमा अभिनय गर्न पाउनु आफ्ना लागि हर्षको विषय भएको बताइन्। ‘संगीत भएपनि यसले आमनेपालीको वास्तविकता चित्रण गरेको छ’ शर्माले भनिन् । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको सुरुआत काठको बाकस चित्रणबाट गरिएको छ।

निर्मातामध्येका एक जोन केथले नेपाली वास्तविकतालाई चित्रण गरेर सन्देश प्रवाह गर्नु भिडियो निर्माणको उद्देश्य रहेको बताए। ‘म चाहन्छु, भिडियो हेरेर विदेशिएका नेपाली घर फर्कन सक्छन् र यहीँ रोजगारी पाउन सक्छन्’ उनले भने, ‘नेपाली कार्पेट उद्योगले रोजगारी सिर्जनामा भूमिका खेल्न सक्छ।’ भिडियो निर्माता लेवल स्टेपका विशाल रानामगरले युवापुस्तामाझ सन्देश प्रवाह गर्नु भिडियोको उद्देश्य रहेको बताए।

कालोपोथी, उमा, मुकुन्डो निर्माण गरिसकेको फिल्म निर्माण कम्पनी मिला प्रोडक्सनले पोस्टप्रोडक्सनमा सहयोग गरेको हो। प्रेसमिटमा गलैंचा उत्पादनमा भाग लिएका श्रमिकले नृत्य प्रदर्शन गरेका थिए। भिडियोलाई प्रशान्त तामाङ र युनाइटेड मल्टी आर्ट्सले संयुक्त नृत्य निर्देशन गरेका हुन्। समारोहलाई पूर्वमिस नेपाल माल्भिका सुब्बाले होस्ट गरेकी थिइन्।

SUBSCRIBE 👉