रिलिज मितिको प्रतीक्षामा ‘प्रेमगीत २’


साउन १३ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘प्रेमगीत २’ अब प्रदर्शनका लागि तयार भएको छ। रेड स्टुडियोमा नायिका अश्लेषा ठकुरी र निर्माता एवं कलाकार सन्तोष सेन फिल्मको डबिंग गर्दै गर्दा भेटिए। सन्तोष सेनका अनुसार, फिल्मको सम्पादनका सबै काम सोमवारबाट सकिएको छ। उनले भने – अब हामी फिल्मको पब्लिसिटीमा समय खर्च गर्नेछौं। फिल्मका निर्देशक रामशरण पाठकले पनि सन्तोष को कुरामा सहमति जनाउदै भने – ‘अब फिल्मको पब्लिसिटीमा नै केन्द्रित हुनेछौं’। अभिनेता प्रदीप खड्काले भने यसअघि नै डबिङ सम्पन्न गरिसकेका छन्।

पहिलो पटक ठूलोपर्दामा देखिन लागेकी नायिका अश्लेषा ठकुरीले डबिङ गर्दाको अनुभव सुनाउँदै भनिन्, ‘डबिङ गर्दै जाँदा बीचैमा छाडुँकी जस्तो भएको थियो तर हिम्मत हारिन । या त म जोडले चिच्याउनुपर्ने, जोडले हाँस्नुपर्ने संवेदनामा उत्रनुपर्ने थियो । गर्दै जाँदा फिलिङ्सले काम सम्पन्न गर्न सफल भए ।’, अश्लेषाले सुनाइन।

आशुसेन फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ। फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ।

फिल्ममा नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्देशक पाठकले बताए। फिल्मको कथा निर्देशक पाठक आफैले लेखेका हुन्।

SUBSCRIBE 👉