फर्स्ट लुक पोस्टरमा एक्शन अवतार, बाहिरियो अनमोल केसीको “कृ” लुक्स


नेपाली चलचित्रमा लभर ब्वाइको रुपमा परिचित अनमोल केसी अब चलचित्र ‘कृ’बाट भने एक्सन हिरोको रुपमा उदाउने छनक देखिएको छ। किन भने साढे २ करोड भन्दा बढी लागतमा निर्माण भएको यो चलचित्रको फर्स्ट लुक पोस्टरले यस्तै बताउँछ। अनमोललाई मात्र समावेश गरेर तयार पारिएको चलचित्रको फस्टलुक पोस्टरमा अनमोललाई लामो कपाल सहित एक्सन अवतारमा देख्न सकिन्छ। अनमोलको यस्तो अवतार यस अघिका कुनै पनि चलचित्रमा देखिएको थिएन।

फस्टलुक सार्वजनिक गरे सँगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ। यो चलचित्र कात्तिक ३ गतेबाट रिलिज हुने पक्का भएको छ।

सुवास इन्टरटेन्मेन्टको निर्माण तथा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र तयार भएको हो। चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य अभिनय छ।

चलचित्रको बजेट साढे २ करोड माथि रहेको निर्माता सुवास गिरीले बताएका छन्। उनले भने–‘यसपटक अनमोलका फ्यानका लागि ‘कृ’ एउटा सरप्राइज चलचित्रको रुपमा रहने पक्का छ। हामीले हरेक दृश्यमा निकै मिहिनेत गरेका छौ। जुन, पर्दामा दर्शकले देख्न पाउनुहुनेछ।’

चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ। चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ।

सुवास गिरी र भूवन केसी निर्माता रहेको चलचित्रमा कमल गिरी कार्यकारी निर्माता छन् भने श्री पराजुली सह–निर्माताको रुपमा रहेका छन्। चलचित्रका प्रोडक्शन डिजाइनर शंकर पाण्डे हुन्।

यो चलचित्रलाई ओभरसिजमा हाइलाइट्स नेपालले वितरण गर्नेछ भने काठमाण्डौ बाहिर मनोज राठीको बैंक्कतेस्ट इन्टरटेन्मेन्टले वितरण गर्नेछ। काठमाण्डौमा भने सुवास इन्टरटेन्मेन्टले नै चलचित्रको वितरण गर्नेछ।

SUBSCRIBE 👉