निर्देशक समाजको विशेष साधारण सभा बोलाउन माग


Naresh-Poudel-Kp-Pathak (1)
ग्ल्यामर नेपाल, काठमाडौं। महिना दिनअघिदेखि नेपाल चलचित्र निर्देशक समाजमा देखिएको विवाद र तनावलाई चाँडै नै साम्य पार्न समाजका पूर्व सल्लाहकारद्वय नरेश पौडेल र केपी पाठकले यथाशिघ्र विशेष साधारण सभा बोलाउन माग गरेका छन्। उनीहरुले ‘सामूहिक अपिल’ जारी गर्दै निर्देशकहरुको पेशागत मर्यादा, हक अधिकारका लागि संस्थागत फाइदालाई केन्द्रमा राख्नुको साटो संस्थालाई अकर्मण्यतातर्फ लैजादै फूटको वातावरण सिर्जना गर्ने काम आफैमा दुर्भाग्यपूर्ण भएको बताएका छन्।

पौडेल र पाठकले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समाजलाई संकटबाट माथि उतार्न आफुहरुले प्रयास गरेको दाबी गरे। ‘कार्यसमितिमा राजीनामा प्रकरण र मनोनयन प्रकरणले समाज द्वन्द्वमा फँसेको अनुभव हामीले ग¥यौं, वर्तमान पुनगर्ठित कार्यसमितिले असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्न सकेन,’समाजमा दुई कार्यकाल अध्यक्ष बिताईसकेका पाठकले भने,‘विधान सम्मत तरिकाले कार्यसमिति पुनर्गठन गरिएन, समाजले कारवाही गरेका व्यक्तिलाई पनि कारवाही अवधि नसकिँदै महासचिव पदमा मनोनित गरियो, यो ज्यादै दुःखद कुरा हो।’ उनले सम्पूर्ण समस्याको समाधान गर्ने उचित माध्यम भनेको विशेष साधारण सभा नै भएकाले आफुहरुले उक्त माग राखेको बताए।

Naresh-Poudel-Kp-Pathak (2)अर्का सल्लाहकार पौडेलले समाजलाई विखण्डन हुनबाट जोगाउन आफुहरुले काम गरिरहेको दाबी गरे। ‘केही नयाँ निर्देशक साथीहरुले अर्को समाज गठन गर्ने कि भन्ने कुरा पनि हामीसमक्ष ल्याए,’उनले भने,‘यो कुुरालाई ठाडै अस्वीकार गरेर बरु अहिलेकै समाजलाई कसरी मजबुत बनाउन सकिन्छ भनेर हामी दुईजना एकजुट भयौं ।’ उनीहरुले आफुहरुलाई विना जानकारी कार्यसमितिबाट हटाएकोमा रोष व्यक्त गरे।

समाजका ६ जना पदाधिकारीले केही समय अघि वर्तमान कार्यसमितिको व्यवहारबाट असन्तुष्ट हुँदै राजीनामा दिएका थिए। जसमा दुई सदस्यले पछि राजीनामा फिर्ता गरेका थिए। तर अन्यको राजीनामा कार्यसमितिले स्वीकृत गरेको थियो । रिक्त पदमा अन्य सदस्य ल्याएर पूर्ति गरिसकिएको छ।

SUBSCRIBE 👉