फ्राई डे रिलिज: ‘रुद्र’ र ‘प्रेम गीत २’ । तपाँईलाई कुन फिल्म हेर्न मन छ?


यो साता दुई चलचित्र प्रदर्शन । निखिल उप्रेतीको ‘रुद्र’ र सन्तोष सेनको ‘प्रेम गीत २’


निखिल उप्रेतीको ‘रुद्र’ : निर्देशक : रामजी लामिछाने संगीत : दिनेश सुनाम/निखिल उप्रेती कलाकार : निखिल उप्रेती, विश्व शर्मा, सारा, रोय दीप, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, भास्कर ओली तथा अनिल पाण्डे आदि।


शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रुद्र’मा निखिल नायक होइन, खलनायक भएका छन्। यो पटक निखिल नकारात्मक भूमिकामा प्रस्तुत हुँदैछन्। चलचित्र ‘रुद्र’का प्रस्तुतकर्ता पनि निखिल नै हुन् भने यो चलचित्रमार्फत निखिल संगीतकार पनि भएका छन्।

रामजी लामिछानेको निर्देशन चलचित्र ‘रुद्र’ पूर्णत एक्सन चलचित्र हो, जसमा निखिल प्रेममा परेका एक प्रेम जोडीबीचको बाधाका रूपमा देखिँदैछन्। चलचित्र ‘रुद्र’मार्फत निखिलले चलचित्र क्षेत्रमा दुई अनुहार विश्व शर्मा र सारालाई पर्दापण गराउँदैछन्। चलचित्र ‘रुद्र’को ट्रेलर अनुसार विश्वले पनि आफ्नो पहिलो चलचित्रमै एक्सनमा आफू अब्बल रहेको प्रमाणित गर्ने प्रयास गरेका छन्। सारा पनि रोमान्टिक चलचित्रका लागि संभावना बोकेकी अभिनेत्रीका रूपमा प्रस्तुत भएकी छिन्।

नेपाली चलचित्रमा पुनर्आगमनपछि निखिल उप्रेतीको चलचित्र ‘भैरव’ले सफलता हासिल गरे पनि त्यसपछिका चलचित्रले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेका छैनन्। चलचित्र ‘रुद्र’को आफ्नो रौद्र रूप दर्शकले मनपराउने कुरामा अभिनेता उप्रेती विश्वस्त छन्। यो चलचित्रमा सौरभ लामाको छायांकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको द्वन्द्व तथा निर्देशकसमेत रहेका रामजी लामिछानेको नृत्य निर्देशन छ।


सन्तोष सेनको ‘प्रेम गीत २’ : लेखक/निर्देशक : रामशरण पाठक संगीत : कल्याण सिंह, एलिस कार्की तथा रोहित जोन क्षेत्री कलाकार : प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, श्रद्धा प्रसाइँ, शिशिर भण्डारी, कविता रेग्मी, मुक्ताबाबु आचार्य आदि।


चलचित्र ‘प्रेमगीत’ले दर्शकहरूको मन जितेको धेरै भएको छैन। त्यसपछि चम्किएका अभिनेता प्रदीप खड्का तथा अभिनेत्री पूजा शर्मामध्ये पूजाले हालै प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु’ मार्फत अर्को सफलता हात पारिसकेकी छिन् भने प्रदीप खड्काको परीक्षा शुक्रबारबाट हुँदैछ।

शुक्रबारबाट ‘प्रेमगीत’को दोस्रो श्रृंखला ‘प्रेमगीत २’ रिलिज भएको छ। प्रदीपले यो सिक्वेलमा नयाँ अनुहार अश्लेषा ठकुरीसँग केमेस्ट्री मिलाउँदै छन्। नेपालका युवक तथा म्यानमारकी युवतीबीच यात्राका क्रममा हुने मित्रता प्रेममा परिणत भएपछि युवतीको अतितले गर्दा युवकले आफ्नो प्रेम प्राप्तिका लागि गर्नु पर्ने संघर्ष ‘प्रेमगीत २’ को मुख्य विषय हो।

नेपालका मनोरम दृश्यहरूका साथै थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको ‘प्रेमगीत २’को निर्माणमा निर्माता सन्तोष सेनले निकै खर्च गरेका छन्। अघिल्लो ‘प्रेमगीत’का कारण युवा दर्शकहरूको नजरमा परेका अभिनेता प्रदीप खड्काका कारण ‘प्रेमगीत २’ बहुप्रतिक्षित चलचित्र बन्न पुगेको छ। ‘प्रेमगीत २’लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने अष्ट महर्जनको द्वन्द्व तथा रेनेशा बान्तवा राईको नृत्य निर्देशन हेर्न पाइन्छ।

SUBSCRIBE 👉