बेनिशाले सौगातलाई ‘झयाँनाकुटी’ पारेपछि निशा मक्ख


गत शुक्रबारबाट फिल्म ‘झयाँनाकुटी’ प्रदर्शनमा आयो। यो फिल्मको निर्मात्री नायिका निशा अधिकारी हुन्। लगानीमा उनलाई फिल्मका निर्देशक सिमोस सुनुवारले सघाएका छन्। यति बेला निशा अधिकारीलाई हलहलमा दर्शक प्रतिक्रिया लिनमा भ्याई-नभ्याई छ। शनिबार फिल्म हेर्न दर्शकहरुको ओईरो लागेपछि निशा उत्साहित देखिएकी छिन्। नहुन् पनि किन ? अघिल्लो साता चार–चार फिल्म ‘तान्द्रो’, ‘मेला’, ‘रोमियो’ र ‘सकस’ एकसाथ रिलिज भए पनि कुनै पनि फिल्मले दर्शकको नजरमा परेन। अझ ‘रोमियो’ मा त निशा आफै मुख्य भूमिका मा छिन्।

सिमोस सुनुवारको निर्देशन रहेको ‘झयाँनाकुटी’ सामान्य झगडामा पत्निले घर छोडेर हिँडेपछि पतिले आफूले र नाबालाक छोरो स्याहार्नका लागि बेहोर्नुपरेको सास्ती र हैरानीलाई हाँस्य शैलीमा देखाईएको छ। सौगात मल्ल र बेनिशा हमालको मुख्य जोडी रहेको फिल्ममा सुमी मोक्तान, एस्टल गुरुङ लगायतको अभिनय रहेको छ।

प्रमोद भारद्वाजको पटकथा रहेको फिल्मले ग्रामीण परिवेशमा वाचन गरेको कथालाई यति बेला दर्शकले रुचाइदिएपछि निर्माताका रूपमा सफल हुने छनकले निशा यति बेला दंग छिन्। नहुने कुरा पनि भएन। यसअघि उनकै सहकर्मी नायिकादेखि नायकसम्म निर्माणमा हात हालिरहँदा सफलता हात पार्न सकिरहेका छैनन्।

SUBSCRIBE 👉