यी हुन् मोडल हुँदै फिल्मी क्षेत्रमा होमिएका हट हिरोइन


मोडलिङ र टिभी सिरियलबाट करिअर सुरु गरेर अन्ततः हिरोइन बनेर बलिउडमा नाम चम्काएका थुप्रै सुन्दरीहरु छन्। पूर्व विश्वसुन्दरी ऐश्वर्या राय, प्रियंका चोपडा, लारा दत्ता लगायत थुप्रै सुन्दरीहरु बलिउडमा क्रियाशील छन्। तीमध्ये कोही हिरोइनमा सफल छन् त कोही असफल साबित भइसकेका छन्। मोडल हुँदै हिरोइन बनेका केही चर्चित कलाकारको करिअरबारे रिपोर्ट:

दीपिका पादुकोण : दीपिकाले मोडलिङबाट आफ्नो करिअर सुरु गरेकी थिइन्। मोडलिङमा उनको राम्रै नाम थियो। सन् २००७ को शाहरुख खानको ‘ओम शान्ति ओम’ फिल्मबाट उनी हिरोइनका रूपमा डेब्यु भइन्। हिरोइनको करिअर पनि चम्कियो उनको। ‘ओम शान्ति ओम’पछि दीपिकाले ‘लब आजकल’, ‘आरक्षण’, ‘ककटेल’, ‘तमासा’, ‘बाजीराव मस्तानी’लगायतका थुप्रै फिल्महरुमा काम गरिन्। उनी बलिउडकी टप हिरोइनमा पर्छिन्।

इशा गुप्ता : ३२ वर्षीया इशाले ‘फेमिना मिस इन्डिया’मा भाग लिएर मिस फोटोजेनिकको टाइटल जितेकी थिइन्। किंगफिसर क्यालेन्डर गर्ल भइसकेकी इशाले ‘जन्नत–२’बाट बलिउडमा पाइला राखिन्। त्यसपछि उनले ‘राज थ्री डी’, ‘चक्रव्यूह’, ‘हमसकल’, ‘रुस्तम’, ‘बादशाहो’लगायतका फिल्ममा अभिनय गरेकी छिन्। इशाको फिल्म करिअरले भने उनले सोचे जस्तो उचाइ लिन सकेको छैन।

सुस्मिता सेन : फिल्म अभिनयमा आउनुअघि सुस्मिताले थुप्रै प्रोडक्टको विज्ञापनहरुमा काम गरेकी थिइन्। सन् १९९४ की ‘मिस युनिभर्स’ विजेता सुस्मिताले मोडलिङमा जस्तो फिल्म अभिनयमा भने सफलता पाउन सकिनन्। उनले सन् १९९६ मा ‘दस्तक’ फिल्मबाट बलिउड डेब्यु गरेकी हुन्। त्यसपछि उनले ‘जोर’, ‘आँखे’, ‘वास्तुशास्त्र’, ‘बेवफा’, ‘मै हुँ ना’, ‘फिलहाल’ लगायतका थुप्रै फिल्ममा अभिनय गरिन्। ४२ वर्षीया सुस्मिता पछिल्लो समय फिल्ममा देखिएकी छैनन्।

अनुष्का शर्मा : अनुष्काले पनि आफ्नो करिअर मोडलिङबाट सुरु गरेकी हुन्। उनले थुप्रै फेसन सोहरुमा काम गरेकी थिइन्। मोडलिङमा सफलता प्राप्त गरिरहेका वेला उनी सन् २००८ मा ‘रब ने बनादी जोडी’बाट हिरोइन बनिन्। त्यसपछि उनका ‘ब्यान्ड बाजा बारात’, ‘जब तक है जान’, ‘पिके’, ‘सुल्तान’, ‘ए दिल है मुस्किल’लगायत थुप्रै हिट फिल्म दिएकी छिन्। अनुष्का पनि बलिउडकी टप हिरोइनमा पर्छिन्।

कैट्रिना कैफ : कैट्रिनाले पनि मोडलिङबाट करिअर सुरु गरेकी हुन्। फिल्ममा आउनुअघि उनले थुप्रै ब्रान्डका विज्ञापनमा मोडलिङ गरेकी थिइन्। सन् २००३ को ‘बुम’ फिल्मबाट बलिउड प्रवेश गरेकी उनले आफूलाई हिरोइनका रूपमा स्थापित गराउन सफल भइन्। उनका ‘मैने प्यार क्यु किया’, ‘हमको दिवाना कर गए’, ‘वेलकम’, ‘रेस’, ‘राजनीति’, ‘एक था टाइगर’लगायतका फिल्म हिट छन्। अब उनको सलमान खान सँग ‘टाईगर जिन्दा है’ र अमिर खान संग ‘ठग्स अफ हिन्दुस्तान’ दर्शक माझ आउंदै छ।

दिया मिर्जा : सन् २००० की ‘मिस इन्डिया प्यासिफिक’ विजेता दिया मिर्जाले त्यसपछि थुप्रै ब्रान्डको मोडलिङ गरिन्। मोडलका रूपमा समेत आफ्नो स्थान बनाएकी दिया सन् २००१ मा ‘रहना है तेरो दिलमे’ फिल्मबाट हिरोइन बनिन्। तर, मोडलिङमा उनी जति सफल थिइन्, फिल्ममा त्यो साख जोगाउन सकिनन्। उनले ‘तेहजिव’, ‘दम’, ‘क्याेँ हो गया ना’, ‘दश’ लगायतका फिल्ममा अभिनय गरिन्। पछिल्लो समय उनी अभिनयमा सक्रिय छैनन्।

नेहा धुपिया : नेहा धुपियाले पनि मोडलिङबाट करिअर सुरु गरेकी हुन्। तर, मोडलिङमा पनि उनले औसतभन्दा बढी सफलता पाइनन्। सन् २००३ मा ‘कयामत’ फिल्मबाट अभिनय थालेकी उनको फिल्मी करिअर पनि त्यति सफल भएन। उनले ‘जुली’, ‘सिसा’, ‘चुप चुप के’, ‘दश कहानिया’, ‘दे दना दन’लगायतका फिल्ममा अभिनय गरिन्।

SUBSCRIBE 👉