हैट! बुद्धि तामाङ पनि हिरो, सकियो ‘मट्टिमाला’ फिल्मको छायाँकन


बुद्धि तामाङ र रजनी गुरुङको मुख्य भुमिका रहेको चलचित्र ‘मट्टिमाला’ को छायांकन सकिएको छ। तिन महिना लगाएर काठमाडौं, काभ्रे, सिन्धुलीगढी, कुलेखानी लगायतका ठाउँहरुमा छायांकन गरेको चलचित्र निर्माण टीमले सिन्धुली गढीमा चलचित्रको एक गीतको छायांकन गर्दै छायांकनको सम्पुर्ण काम सकिएको जानकारी दिएको छ। चलचित्र टेके पौरखी राईले निर्देशन गरेका हुन्। चलचित्रको ७० प्रतिशत छायांकन राजधानीमा गरिएको छ।

‘मट्टिमाला’को कथाले गाउँ र शहरको जीवनयापनमा आउने फरक र युद्धलाई बोल्छ। चलचित्रको बिषयमा बोल्दै निर्देशक राई भन्छन्, ‘एउटा गाउँमा जीवन यापन गर्ने युवा र शहरमा जीवन यापन गर्ने युवाहरुको कथामा यो चलचित्र निर्माण गरिएको हो। चलचित्रमा द्धन्द्ध, मनोरञ्जन, मायाप्रेम सबै पाउनु हुनेछ।’ उनका अनुसार चलचित्रका मुख्य कलाकार बुद्धि तामाङ गाउँले युवाको भूमिकामा देखिनेछन्। चलचित्रमा बुद्धि र रजनीको साथमा चिरन राई, शिशिर राना, अर्जुन गुरुङ, अरुणा कार्की, बिनोद राई, दिपक आचार्य लगायतको अभिनय छ।

चलचित्रको कथा निर्देशक राई स्वयमले लेखेका हुन् भने चलचित्रमा पृथ्वी राईको लगानी छ। सुमन राईको संगीत रहेको यो चलचित्रको रोश भट्टाई, जानु काम्बाङ लिङदेन, साङ्लोन तामाङ गीतकार हुन्। चलचित्रका गीतमा संगीता थापा, सुन्दर लामा, अमृता लिम्बु, बबिना किरातीको स्वर छ। राहुल राईले खिचेको यो चलचित्रलाई अनिल कुमार महर्जनले सम्पादन गर्नेछन्। चलचित्र यसैबर्षको अन्तिममा प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्र युनिटले बताएको छ।

SUBSCRIBE 👉